सुनसरी / शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘घरज्वाइँ’ले बक्सअफिसमा सुखद शुरुवात गरेको छ ।
शुक्रबारका बिहानी शोमा वर्षाले असर गरेपनि दिउँसोका शोमा देशभर नै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्म अकुपेन्सी देखिएको वितरक रोहित कट्टेल र रत्न श्रेष्ठले बताए । फिल्मका वितरक कट्टेलले विभिन्न हलमा हाउसफुल भएका स्क्रिन सर्ट सामाजिक सञ्जाल फेसबुकमा राख्दै दर्शकको राम्रो साथ मिलेको भन्दै खुशी व्यक्त गर्नुका साथै दर्शकलाई धन्यवाद समेत दिएका छन् । शुक्रबार काठमाडौं उपत्यका र पूर्वी नेपाल अनि पश्चिम नेपालमा बिशेषगरी दाङ, बुटवल, नेपालगञ्ज लगायतका ठाउँमा दर्शकको राम्रो साथ मिलेसँगै केही हलले फिल्मको शोमा बढोत्तरी समेत गरेका छन् ।
फिल्मले दर्शकबाट उत्कृष्ट वर्डअफ माथउ पाएकाले शनिबारको व्यापार बम्पर हुने अपेक्षा निर्माण टिमलाई छ । निर्माता जनक घर्ती मगरले शुक्रबारका बिहानी शोमा पानीले केही असर गरेपछि दिवा शोबाट हलमा दर्शकको चाप रहेको बताए । हामीले विभिन्न हलमा अनलाईन टिकेटिङ्ग साइट खोलेर हेर्दा अधिकांश शोमा दर्शकको चाप देखिन्थ्यो । जसले गर्दा दयाहाङ र मिरुनाको जोडीलाई दर्शकले रुचाएको प्रमाणीत हुन्छ ।
जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको फिल्मको कथा निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् । अनिल बुढा मगरेको डेव्यु निर्देशनमा निर्माण भएको फिल्मलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् ।
फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ । फिल्मका गीतमा हर्क साउद र मनोज थापा मगरको शब्द तथा संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने फिल्मको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएमले अष्ट्रेलियाले फिल्मको विदेश प्रदर्शन अधिकार लिएको छ । नेपालमा यो फिल्मलाई आरआर फिल्मसले वितरण गरेको हो ।