इटहरी/ सुनसरीको इटहरीमा बसोबास गर्ने कृञ्जल पौडेलले निर्माण गरेको बाल लघु चलचित्र गौँथली राष्ट्रिय बाल चलचित्र महोत्सवमा प्रस्तुत गरिने भएको छ। असार ७, ८ र ९गते धनगढीमा हुने बाल चलचित्र महोत्सवमा गौँथली प्रस्तुत गरिने भएको हो।

चलचित्र विकास बोर्डले असार ७ गते देखि ९ गते धनगढीमा गर्ने बाल चलचित्र महोत्सवमा इटहरीकी कृञ्जल पौडेलको लेखन तथा निर्देशन रहेको लघु चलचित्र गौँथली प्रदर्शन गरिने भएको कृञ्जलका बुबा रितेश जंग पौडेलले बताएका छन्।

कृञ्जलको लेखन तथा निर्देशन रहेको गौँथलीले बाल श्रम कानुनी अपराध हो भन्ने विषय उठान गरेको छ। चलचित्रमा रितेश जंग पौडेल, प्रमिला लम्साल, उदय सुब्बा, सुभद्रा प्याकुरेल, मनिषा बस्नेत, बाल कलाकार कृष्टिना पौडेल र निर्देशक समेत रहेकी कृञ्जल पौडेलको भूमिका रहेको छ। 

प्रकाश सुब्बाले गौँथलीको छायांकन गरेका हुन् भने गौँथलीको सम्पादन हेमन तामाङले गरेका हुन्।

केही समय अघि इटहरीमा बालबालिकाका लागि चलचित्र निर्माणसम्बन्धी मेरो कथा, मेरो चलचित्र कार्यशाला गरिएको थियो।

सोही कार्यशालामा सिकाइए अनुसार निर्माण भएको गौंथलीलाई राष्ट्रिय बाल चलचित्र महोत्सवमा प्रस्तुत गर्न लागिएको हो।