इटहरी/ इटहरी उपमहानगरपालिकाले ‘उज्यालो इटहरी’ अभियान शुरु गरेको छ। अभियान अन्तरगत उपमहानगरको विभिन्न चोक तथा मुख्य सडकहरु सँगै प्रत्येक पोलमा बत्ति जडानको काम थालेको हो।

इटहरीको वडा नम्बर १का बजार तथा चोकहरुमा सडक बत्ति जडान गरि अभियान शुरु गरिएको हो।  सबै वडालाई उज्यालो बनाउने अभियान अन्तरगत २० वटै वडाको प्रत्येक बिजुलीको पोलमा बत्ति बाल्ने अभियान शुरु गरेको उपमहानगरपालिकाले जनाएको छ।

इटहरीलाई उज्यालो बनाउने कार्यक्रम अन्तर्गत सडक बत्ति जडान कार्य निरन्तर भईरहेको नगर प्रमुख हेमकर्ण पौडेलले बताउनुभयो। नगर प्रमुख पौडेलले भन्नुभयो, ‘उज्यालो इटहरी’ कार्यक्रम अन्तर्गत नै मुख्य चोकहरुमा मात्र नभई वडाहरुको प्रत्येक खाली पोलहरुमा सडक बत्ती जडान गरिरहेका छौं’ उहाँले ‘प्रविधियुक्त सडक बत्ति जडान गरिएकाले नगर उज्यालो हुँदै गएको छ’ भन्नुभयो।

नगर प्रमुख पौडेलले उज्यालो इटहरी कार्यक्रमलाई निरन्तरता दिने समेत बताउनुभयो। उप– महानगरपालिकाले जडान गरेका सडक बत्ति रात पर्दा आफैं बल्ने र उज्यालो हुँदा आफैं बन्द हुने प्रविधिका छन्।

विद्युत बिस्तार भएसँगै त्यहाँका स्थानीयवासी पनि खुशी भएका छन्। इटहरीको जङगल आसपास हात्ती आतंक र शहरमा चोरी बढ्दै गएको भन्दै अहिले सुरक्षाको हिसाबले पनि पोलै पिच्छे बत्ति जडानको काम हुँदै गरेको बिद्युत शाखाका प्रमुख उमेश चौधरीले बताउनुभयो।चौधरीले निरन्तर वडाहरुमा जडानको काम भईरहेको जानकारी दिनुभएको छ।