इटहरी/ इटहरीलाई डुबाउनबाट जोगाउन टेँग्राखोला सफाई गरेको उप–महानगरपालिकाले खेतीखोलाको सीमा छुट्टाउने नापजाँचलाई तीव्रता दिएको छ। उपमहानगरद्धारा गठित अध्ययन कार्यदलले खेतीखोलाको क्षेत्राधिकार भित्र पर्ने जग्गा र निजी जग्गा छुट्टाउन प्राविधिक जाँचलाई तीव्रता दिएको हो।
इन्जिनियर, अमिन, सर्भेयर र प्रशासनका कर्मचारीसहितको नापजाँच टोली एक महिना देखी इटहरी ४ मा रहेको नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटरको दक्षिणी क्षेत्र र उत्तरी क्षेत्रमा खटिएका छन्।
टेँग्राखोला सफाईको काम अपेक्षाकृत रुपमा सफल भएको दाबी गरेको उप–महानगरपालिकाले सोही शैलीमा खेतीखोलाभित्र पर्ने अतिक्रमित संरचना भत्काउने र खोला सफाई गर्ने बताएको छ।
इटहरीमा कङ्क्रिटका भवनहरूले छोप्दै जाँदा खेतीखोला हराउँदै गएको छ। सिमाना हराउँदै गएको खेतीखोलाको सीमा खोजी गर्न प्राविधिक टोली अहिले घामपानी नभनि काममा खटिएको छ।
दुई सय ४८ घर भत्किनेछन् :
अध्ययन समितिको असार ७ गते शुक्रवार सम्मको अध्ययन अनुसार खेतीखोलामा दुई सय ४८ घर भत्किने छन्। ती घरहरू खोलाको जग्गामा बनेका छन्।
नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर देखी दक्षिण सिचाइको नहर सम्म र उत्तर तर्फ हलगडा सम्म नापजाँच गर्दाको तथ्याङ्क हो यो। यो तथ्याङ्क अझ बढ्ने अध्ययन समितिले जनाएको छ।
पृतना हेडक्वाटर देखी दक्षिण सिंचाइको नहर सम्म २ सय २०घर भत्किने अवस्थाका छन्। उत्तर तर्फ हलगडा सम्म भने २० घर भत्किने देखिएको छ। उत्तर तर्फ नापजाँच चलिरहेको हुँदा यस तर्फ पनि भत्किने घरको संख्या अझै धेरै हुन सक्छ। खोलाको क्षेत्राधिकार भित्र सानाकच्ची घरदेखी ठुला आरसिसी घरहरू पनि छन्।
यस्ता घरहरू मध्ये केही घरहरू नक्सापास भएका पनि भएको अध्ययन समितिका संयोजक पुष्पनारायण चौधरीले जानकारी दिनुभयो। यी क्षेत्रको अध्ययन गर्दा कतिपय ठाउँमा खोलाभित्रै घरहरू छन् भने व्यक्तिको जग्गामा खोला बगिरहेको छ।
कसरी हुँदै छ नापजाँच ?
इन्जिनियर, सर्भेयर, अमिनसहितको २२ जनाको टोली अहिले खेतीखोलाका झाडी पन्छाउँदै खोलाको क्षेत्राधिकार र निजी जग्गा छुट्टाउँदै छन्। दैनिक जसो घामपानी नभनि प्राविधिक टोलीले खोलाको क्षेत्र र व्यक्तिको निजी जग्गा तथा घर छुट्टाएर चिन्ह लगाउँदै छन्।
प्राविधिक समितिले २ किसिमले काम गरिरहेको वातावरण शाखाका प्रमुख तथा अध्ययन समितिका संयोजक पुष्पनारायण चौधरीले बताउनुभयो।
जिल्ला नापी कार्यालयबाट प्राप्त भएको नक्साको आधारमा खोलाको क्षेत्राधिकार जाँच गर्दैछ। जसमा खोलाको क्षेत्राधिकार भित्र परेका घरहरूलाई रातो रगंले चिन्ह लगाईएको संयोजक चौधरीले जानकारी दिनुभयो।
अर्कोतर्फ प्राविधिक टोलीले हाल बगिरहेको खेतीखोलाको आधारमा पनि सँगै जाँच गरिरहेको छ। खोला बगिरहेको खोलाको आधारमा खोलाभित्र परेका घरहरूलाई भने पहेँलो रङले चिन्ह लगाइएको छ। एकैपटक दुईवटै तरिकाले नापजाँच भईरहेको संयोजक चौधरीले जानकारी दिनुभयो।
अहिले सम्म नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर देखी दक्षिण तर्फ सुनसरी मोरङ सिचाई आयोजनाको नहर सम्म नापजाँच भईसकेको छ। त्यस्तै पृतना हेडक्वाटर देखी उत्तर तर्फ भने हलगडा सम्म नापजाँच भएको छ। नापजाँच गर्ने क्रम जारी छ।
नापजाँच गरिसकेपछि प्राप्त भएको तथ्याङ्क तथा अध्ययनको निष्कर्षसहितको प्रतिवेदन उपमहानगरमा बुझाइने वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीले जानकारी दिनुभयो। यसका लागि अझै १५देखी २०दिन लाग्ने चौधरीको भनाई छ।
प्रतिवेदन प्राप्त भएपछि उपमहानगरले गर्ने निर्णय पछि दोस्रो चरणको काम शुरु गर्ने उहाँले स्पष्ट पार्नुभयो।
५० वर्षको पानीको तथ्याङ्क अध्ययन:
शहर बीचबाट बग्ने खेतीखोलामा हेर्दा सानो देखिन्छ । तर वर्षाको समयमा ठुलो बाढि नै आउँछ । खासमा खेतीखोलामा कति पानी बग्छ त ? यो रोचक अध्ययन उपमहानगरले गर्दै छ।
पछिल्लो ५० वर्षमा कति र कुन तह सम्म पानी बग्यो त्यसको प्राविधिक अध्ययन गरिरहेको अध्ययन समिति संयोजक चौधरीले जानकारी दिनुभयो।
‘खेतीखोलामा पछिल्लो ५० वर्षमा बगेको पानीको ट्रेन्ड के छ पत्ता लगाउने प्रयास गर्दै छौँ। पानीको ट्रेन्ड पत्ता लगाएर आउने समयमा कति पानी बग्न सक्छ भनेर अध्ययन गरिरहेका छौँ’ संयोजक चौधरीले भन्नुभयो।
उहाँले स्पष्ट पार्दै भन्नुभयो, ‘पाए सम्मको पानीको तथ्याङ्क, यहाँका पुराना रैथाने बासिन्दा, किसानहरूसँग कुराकानी गर्दै अध्ययन गरिरहेका छौँ’। यो अध्ययनमा हाइड्रोलोजिकल इन्जिनियर, सिभिलइन्जिनियर, वरिष्ठ इन्जिनियरसहित सर्भेयर र अमिनको टोली खटिएको छ। यो टिमलाई वल्ड बैङ्कले पनि सर्पोट गरिरहेको छ।
खेतीखोलामा कति सम्म पानी बग्यो र अब कति मात्रामा पानी बग्न सक्छ भन्ने तुलनात्मक अध्ययनपछि मात्रै खोलाको चौडाइ किटान गर्ने उपमहानगरको योजना छ।
खेतीखोलाको चौडाइ कति तोक्ने भन्ने विषयमा फरक मत रहँदा यो विश्लेषणले सहयोग गर्ने संयोजक चौधरीको भनाई छ।
संरचना हटाउन उप–महानगरको ताकेता:
उप–महानगरपालिकाले खेतीखोलामा बनेका संरचना हटाउन दोस्रो पटक १५ दिने सूचना जारी गरेको छ। ज्येष्ठ २० गते दोस्रो पटक भन्दै १५दिने सूचना निकालेको उप–महानगरले पहिलो ३५दिने सूचना वैशाख २५गते नै प्रकाशन गरेको थियो। संरचना हटाउन उप–महानगरले पटक पटक सूचना जारी गर्दै तोकेता गरिरहेको छ।
खोला अतिक्रमण गरेर बनेका संरचना नहटाए डोजर चलाउने उप–महानगरले सार्वजनिक सूचनामार्फत सचेत गराएको छ। खेतीखोलाको दुवै किनारबाट ६÷६ मिटर छोडी भवन संरचना बनाउनु पर्ने प्रचलित कानुनलाई आधार मान्दै संरचना हटाउने तयारी भएको मेयर हेमकर्ण पौडेलले बताउनुभयो।
टेँग्राखोलाको तुलनामा खेतीखोला अतिक्रमण गर्ने घर धुरीको संख्या ठुलो निस्कने देखिएको छ। त्यसकारण पनि उप–महानगरले पटक पटक सूचना प्रकाशन गरी घरधनीलाई आफै संरचना भत्काउन ताकेता गर्दै आएको छ।
दीर्घकालीन समाधान :
इटहरीको डुबान रोक्न खेतीखोलाको अतिक्रमित क्षेत्रलाई क्लियर गर्नैपर्ने संयोजक चौधरी बताउनुहुन्छ। २०७४ र २०७८को वर्षा र त्यस बेलाको बाढिलाई हेर्ने हो भने आर्मी ब्यारेक माथि पट्टि र दक्षिण तर्फ धेरै भौतिक क्षति भएको चौधरीले बताउनुभयो। त्यस बेला बजार क्षेत्रका धेरैको पसल भित्र पानी पसेर सामान नष्ट भएको देखेको उहाँको भनाई छ।
यस्तो समस्या प्रत्येक वर्ष जस्तो बारम्बार दोहोरिन सक्छ। बर्सेनि बाढि र डुबानको समस्या भोगी रहनुपर्छ। चौधरीले भन्नुभयो ‘त्यसैले यसको दीर्घकालीन समस्या समाधानका लागि कम भन्दा कम क्षति हुने गरी खोलालाई क्लियर गर्नुपर्छ।’