सुनसरी / मुस्लिम र हिन्दु समुदायबीच धार्मिक हिंसा भड्किएपछि सुनसरीको हरिनगर र देवानगञ्ज गाउँपालिकामा अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालय, सुनसरीले शुक्रबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी हरिनगरका सबै वडा र देवानगजञ्जको १ र ७ नम्बर वडामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।

शान्तिसुरक्षाको संवेदनशीलतालाई मध्यनजर राखी घटनामा सम्भावित मानवीय क्षति कम गर्न तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्न अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको सुनसरीका कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले जनाएका छन् ।

हिन्दु युवा गौतमपुर निवासी जीवन मेहताले मुस्लिमको धार्मिक ग्रन्थ कुरानबारे गलत टिप्पणी गरेको भन्दै हरिनगर गाउँपालिका-१, रामनगर, भुटाहामा धार्मिक हिंसा भड्किएको हो । मेहतामाथि बिहीबार कुटपिट भएकाे थियाे ।

बिहीबारदेखि नै तनावग्रस्त बनेको भुटाहाको स्थिति शुक्रबार झनै अनियन्त्रित बनेको हो । अहिले भने स्थिति नियन्त्रणाेम्मुख रहेको बताइएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ । घटनामा केही सुरक्षार्मीसहित दर्जनौं घाइते भएका बताइएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा मुस्लिम समुदाय लाठी लिएर सामूहिक आक्रमणमा उत्रिएको देखिन्छ ।1712309083205