काठमाडौं / अतिक्रमित सार्वजनिक जग्गा खोज्ने र सडक क्षेत्रका भौतिक संरचना हटाउने अभियानलाई वीरगञ्ज महानगरपालिकाले निरन्तरता दिएको छ । अनधिकृत संरचनाले सडक विस्तारमा अवरोध भएपछि महानगरपालिकाले घरटहरा हटाएका हो ।

महानगर क्षेत्रभित्र सार्वजनिक पोखरी तथा जग्गा अतिक्रमण गर्ने र सार्वजनिक जग्गामा भौतिक संरचना निर्माण गर्ने प्रवृत्ति बढेसँगै वीरगञ्ज महानगरपालिकाले सो अभियानलाई निरन्तरता दिएको हो । अभियानकै क्रममा सोमबार साँझ महानगरपालिकाले वडा नं २९ बसडिल्वाका घरटहरा हटाइएको छ ।

महानगरपालिकाको बगहीबाट मुसैली बसडिल्वा, बकनेर हुँदै पर्सागढी नगरपालिका–३ को पारस चोकसम्म करिब सात दशमलव पाँच किलोमिटर पक्की सडक निर्माणाधीन छ । सडक क्षेत्रमा परेको भौतिक संरचना हटाउन पटकपटक सूचना दिए पनि लामो समयसम्म नहटाएपछि महानगरपालिकाले टहरा हटाएको हो ।

यसअघि हुलाकी सडकअन्तर्गत पर्साको वीरगञ्ज महानगरपालिका १५ स्थित प्रतिमा चोकमा अतिक्रमण गरी बनाइएका संरचना हटाइएको थियो । केही स्थानीयले सडक अतिक्रमण गरेर संरचना बनाएका कारण हुलाकी सडक निर्माण अवरुद्ध भएपछि ती संरचना भत्काइएका थिए ।

प्रतिमा चोकबाट कलैयातर्फ जाने करिब एक सय ५० मिटर लामो सडकखण्ड निर्माणको ठेक्का अभि कन्सट्रक्सनले पाएको छ । उक्त खण्ड ६९ लाख १५ हजारमा हुलाकी सडककै मापदण्डअनुसार आगामी जेठ ३० गतेभित्र सम्पन्न गर्नेगरी सम्झौता भएको छ ।

अतिक्रमित सार्वजनिक जग्गा खोज्ने र सडक क्षेत्रमा निर्माणाधीन भौतिक संरचना हटाउने अभियानलाई निरन्तरता दिएको महानगरले अभियानकै क्रममा हालसम्म महानगर क्षेत्रभित्रका २८ वटा सार्वजनिक पोखरी तथा एक सय ४८ बिघाभन्दा बढी जग्गा आफ्नो स्वामित्वमा ल्याएको वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहका सचिवालय सल्लाहकार हरि पोखरेलले बताए ।