काठमाडौं / नेपाल आयल निगम लिमिटेडले आइतबार रातिबाट लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ वृद्धि गरेको छ ।

मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य एक सय ७५ रुपैयाँ प्रतिलिटर पुगेको छ। अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत राखिएको छ। आइतबार दिउँसो इन्डियन आयल कर्पोरेसन लिमिटेडबाट नयाँ खरिद मूल्य आउँदा पेट्रोलको मूल्य चार रुपैयाँ ७६ पैसा प्रतिलिटर बढेर आएका कारण निगमको सञ्चालक समिति बैठक बसेर मूल्यवृद्धि गरेको जनाएको छ। 

त्यस्तै, डिजेल ०.३९ रुपैयाँ र हवाई इन्धन ०.३८ रुपैयाँ प्रतिलिटर घटेको तथा खाना पकाउने एलपी ग्यासको मूल्य २७.४४ रुपैयाँ प्रतिसिलिन्डर घटेको आएको निगमले जनाएको छ।

मूल्य घटे पनि ग्यास बिक्रीमा निगमलाई अझै प्रतिसिलिन्डर दुई सय ९६ रुपैयाँ १५ पैसा घाटा रहेकाले मूल्य यथावत रहेको निगमले विज्ञप्तिमार्फत जनाएको छ।

उपत्यकामा डिजेल र मट्टीतेलको मूल्य एक सय ५८ रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको छ। आन्तरिक हवाई इन्धन एक सय ३६ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धन १.०३५ डलर प्रतिलिटर तथा ग्यासको मूल्य एक हजार नौ सय १० रुपैयाँ प्रतिसिलिन्डर कायम छ।Petrol-1711898403