इटहरी / आज पनि होली पर्व धुमधामका साथ मनाइँदैछ । रंगहरूको पर्व होली तराई तथा मधेसका जिल्लामा हर्षोलासका साथ मनाइँदैछ । यसलाई रंगहरुको पर्वका रुपमा लिइन्छ ।

पहाडी जिल्लामा हिजो फागु पूर्णिमा अर्थात् होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज मनाउन लागिएको हो । होलीका अवसरमा संघीय सरकारले आज एक दिन  सार्वजनिक बिदा समेत दिएको छ । हिजो पनि पहाडी जिल्लाहरुमा सार्वजनिक विदा दिइएको थियो । 

आपसमा रंग दलेर खुशी साटासाट गरी मनाइने होली पर्वको आफ्नै धार्मिक, साँस्कृतिक र सामाजिक महत्व छ । होलीले आपसी सद्भाव, भातृत्व र आत्मीयता बढाउन सहयोग पुर्‍याउने गर्दछ । होलीका अवसरमा विभिन्न सांगीतिक तथा साँस्कृतिक कार्यक्रम गरेर खुसी साटासाट गर्ने गरिन्छ । 

दैत्यराज हिरण्यकश्यपुले आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने बरदान पाएकी बहिनी होलिकालाई छोरा सहित आगोमा पस्न लगाउँदा होलिका भष्म भएकी र प्रल्हाद बच्न सफल भएको खुशीयालीमा होली मनाउने गरिन्छ ।