काठमाडौँ । गभारो किरोलाई गोलभेँडाको प्रमुख शत्रु मानिन्छ ।  यसले कपास, चना, रहर, गोलभेँडा लगायत १ सय ८० भन्दा बढी बिरुवाहरूमा आक्रमण गर्ने वरिष्ठ बाली संरक्षण अधिकृत राजीव दास राजभण्डारीले बताए ।  उनका अनुसार यो किरोले गोलभेँडाको उत्पादन र गुणस्तरमा ६० प्रतिशत सम्म नोक्सानी पु-याउँछ । गर्मी समयमा खेती गरिएको गोलभेँडामा यो किरोले धेरै क्षति गर्दछ । 

कसरी चिन्ने गभारो ?

लार्भाहरूको रङ्ग सामान्यतया सानो छँदा हल्का हरियो भई उमेर बढ्दै जाँदा यिनीहरूको रङ्ग हल्का खैरो हुने उनले उल्लेख गरेका छन् । तर आहार र वासस्थान अनुसार लार्भाको रङ्ग परिवर्तन हुने गर्दछ । अधिकृत राजभण्डारीका अनुसार लार्भाको साइज सानोदेखि मध्यम आकारको (झन्डै ३–४ से.मी.) र शरीरको माथिल्लो भागमा दुवै पट्टि छेउमा बीच–बीचमा मधुरो खैरा धर्साहरू र शरीरमा रौँ जस्ता उपाङ्गहरु हुन्छ । 

खैरो रंगको वयस्क पोथी पुतलीले फूलको वरिपरि रहेका कलिला पातहरूमा सेतो पहेँलो अण्डा पारेको २ देखि ३ दिनमा साना साना मसिना लार्भाहरू जन्मी सुरुमा कलिला मुनाहरूमा आक्रमण गर्दछन् र फल लाग्न थालेपछि चिचिला फलहरूमा आक्रमण गर्ने अधिकृत राजभण्डारीले उल्लेख गरे ।

यस्तै, फलहरूमा प्वाल पारी फलको भित्री भागमा गुदी खाई नोक्सानी पुर्‍याउँछ । सुरुमा पात तथा कलिला मुनाहरूमा छुट्टाछुट्टै पारिएका अण्डा वा ससाना लार्भाहरू, विष्टा वा मुना वा चिचिलामा स–साना प्वालहरू देखिन्छन् तथा हेलिल्युरयुक्त फनेल पासो राखी किरोको नियमित निगरानी गर्नु पने राजभण्डारीले सुझाए । 

कसरी गर्ने व्यवस्थापन ? 

पासो वालीका रूपमा खेतबारीको बिचमा सूर्यमुखी लगाउनाले वयस्क पुतलीहरू फुल पार्न सूर्यमुखीमा आकर्षित हुन्छन् र त्यहाँ मात्र नष्ट गर्न सकिने अधिकृत राजभण्डारीले बताए । गभारोले नोक्सान गरेका फलहरू र सुकेका हाँगा एवं पातहरू सङ्कलन गरी नष्ट गर्नुपर्ने बताए । रातको समयमा १ वा २ वटा बत्तीको पासो प्रति रोपनीको दरले समान दूरीमा पर्ने गरी प्रयोग गर्ने र पासोमा परेका पुतलीहरू जम्मा गरी नष्ट गर्नु पर्ने उनले सुझाए । उनका अनुसार गोलभेँडा बालीमा फूल–फुल्न सुरु गरेपछि, गभारोको वयस्क भाले पुतलीलाई आकर्षण गरी फसाउन हेली युक्त पासो प्रति रोपनी जग्गामा ५ वटा को दरले प्रयोग गनुपर्छ । बेलुकीपख भाइरसयुक्त जैविक विषादी ( एच.एन.पि.भि.) १ लिटर पानीमा १ मिलिको दरले वा बि.टी. के ३ ग्राम प्रति लिटर पानीमा घोली १० दिनको अन्तरमा २ पटक एकनासले छर्नुपर्ने उनको भनाइ छ । 

यस्तै, क्लोरएन्ट्रानिलिप्रोल १८.५% एस.सि. १ मिलि प्रति ३ लि. पानीका दरले छर्ने वा स्पिनोस्याड ४५% एस.सि. १ मिलि प्रति ३ लिटर पानीका दरले वा नुभालुरोन १०% ई.सि. १ मिलि प्रति लिटर वा ईमामेक्टिन बेन्जोएट ५ % डब्लु. डि. जि. १ ग्राम ३ लिटर पानीका दरले छर्न उनको सुझाव छ ।