इटहरी ।  ऐतिहासिक बर्जुतालमा विगतको वर्षझै यस वर्ष पनि महोत्सवको तयारी भएको छ । सुनसरीको बर्जु सामुदायिक विकास केन्द्र बर्जु ६ चिमडीको आयोजनामा पाचौं बर्जु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बर्जु सामुदायिक विकास केन्द्रले जनाएको छ ।

बर्जु ६ का वडा अध्यक्ष श्रवण चौधरीले बर्जुतालमा पाँचौं बर्जु महोत्सव पुस २७ गतेदेखि सुरु हुने जानकारी दिनुभयो । चौधरीका अनुसार यो पाँचौं बर्जु महोत्सव बर्जु ताल एरिया १ नं. गेट छेउमा आउँदो पुस २७ देखि माघको पहिलो हस्तासम्म लाग्नेछ ।

बर्जु गाउँपालिका वडा नम्बर ६ को चिमडी बजार नजिकै लाग्ने यो महोत्सवमा दर्जनौं राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने अध्यक्ष चौधरीले बताउनुभयो । उनका अनुसार कलाकारको जम्बाे टोलीमा, मोडल, टिकटक स्टारहरु, कुस्ती खेलाडीहरुको मुख्य प्रस्तुति रहनेछ ।

तालका कर्मचारी सरोज चौधरीका अनुसार महोत्सवको आकर्षणको रुपमा मौलिक तथा संस्कृतिक प्रस्तुति, कुस्ती खेल, कमेडी, नृत्यलाई समेत समावेश गरिएको छ । चौधरीका अनुसार नेपाली तथा भारतीय कुस्ती खेलाडी पहलमानहरुको सहभागितामा कुस्ती खेल सञ्चालन गरिनेछ ।

त्यस्तै बर्जु महोत्सव पूर्व नै कोशी प्रदेशका आर्थिक मामिला तथा कानुनमन्त्री शमशेर राई, कोशी प्रदेशसभा सदस्य सुनीता गुरुङ, कोशी प्रदेशसभा सदस्य खगेश्वरी पौडेलले तालको अवलोकन तथा निरीक्षण गर्नुभएको छ । उहाँहरुले बर्जु गाउँपालिकाको ऐतिहासिक धरोहर पर्यटकीय स्थल चिमडी बर्जुतालको अवलोकन भ्रमण गर्नुभएको चौधरीले जानकारी दिनुभएको छ ।