ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा सञ्चालित योजना तथा पूर्वाधारको सर्वपक्षीय अनुगमन गरिएको छ। पाथीभरा क्षेत्र विकास समितिको आह्वानमा पाथीभराको अवस्था तथा यहाँ सञ्चालित पूर्वाधार योजनाहरूको शुक्रबार सर्वपक्षीय अनुगमन गरिएको हो।

जिल्लास्थित राजनीतिक दल, सरकारी कार्यालयसहितका सरोकारवाला निकायको सहभागितामा पाथीभराको सर्वपक्षीय अनुगमन गरिएको हो। भक्तजनको दर्शन तथा भेटी रकमलाई थप व्यवस्थित बनाउन र यहाँ सञ्चालित पूर्वाधार साथै योजनाबारे पृष्ठपोषण लिने उद्देश्यले सर्वपक्षीय अनुगमन गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताउनुभयो।

हाङ्बाङका अनुसार निर्माणाधीन पाथीभरा खानेपानी लिफ्टिङ आयोजना, सुकेटार–देउराली–काफ्लेपाटी पाथीभरा सडक कालोपत्रे योजना, बसपार्क, पाथीभरा दर्शनमा भक्तजनको व्यवस्थापन लगायतबारे स्थलगत अनुगमन गरिएको छ। पाथीभरा धाम र यसक्षेत्रको सरसफाइको अवस्था, आगन्तुक भक्तजनका लागि होटल व्यवसायी तथा यातायात व्यवसायीले गर्दै आएको सेवाबारे पनि अनुगमन टोलीले जानकारी लिएको छ।

पाथीभरा क्षेत्रको वस्तुगत अवस्थाबारे स्थलगत निरीक्षण तथा जानकारी लिँदै थप सुधारसहित व्यवस्थापनबारे सर्वपक्षीय टोलीले छलफल र अन्तर्संवाद गरेको छ। पाथीभरा सडक कालोपत्रे कार्यमा भइरहेको ढिलासुस्ती, लिफ्टिङ खानेपानी योजनाको गुणस्तरीयता र योजनालाई पूर्णता दिनका लागि विद्युतमा भएको समस्यासम्बन्धी टोलीले निरीक्षण गर्दै गहन छलफल गरेको छ। 

अनुगमनपछि सर्वपक्षीय टोलीले औैंल्याएको सुझावका आधारमा वर्तमान अवस्थालाई थप व्यवस्थित गर्न र गुणस्तरीय योजना कार्यान्वयनका लागि आवश्यक योजना बनाउने कार्यकारी निर्देशक हाङ्बाङको भनाइ छ। यस्तै राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवाला सबै संलग्न रहेको सर्वपक्षीय टोलीले औँल्याएको विषय तथा सुझाव नै पाथीभराको प्रवर्द्धन र थप व्यवस्थापनका लागि पृष्ठपोषण हुने पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले बताउनुभयो।

समुद्र सतहदेखि तीन हजार ७९४ मिटरको उचाइमा रहेको पाथीभराको दर्शन गर्न देश विदेशका गरी वार्षिक लाख भक्तजनको आउजाउ हुने गरेको छ। त्यस्तै भक्तजनले चढाएको भेटी रकमसमेत वार्षिक लाखौँ रुपियाँ सङ्कलन हुने गर्दछ। पाथीभराकै कारण स्थानीय होटल, यातायात र अन्य व्यवसायीले पनि राम्रो आम्दानी गर्दै आएका छन्।