भोजपुर । भोजपुर नगरपालिका–५ स्थित बोखिमका किसानको पाक्न लागेको धानमा ढुसीको माध्यमद्वारा लाग्ने मरुवा रोग (ब्लास्ट) का कारण धान नष्ट भएको छ । धान पाक्ने बेलामा बोट कालो भएर सुक्दा फलेको थोरै धान पनि भित्र्याउन नसकेको स्थानीय श्रीप्रसाद दङ्गाल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “करिब छ रोपनी क्षेत्रफलमा लगाएको धानमा रोग फैलिँदा धान सुकेर नष्ट भएको छ । 

वार्षिक २०÷२५ मुरी धान उत्पादन हुँदै आएको खेतमा यस वर्ष दुई मुरी धान पनि सङ्कलन नहुँदा मारमा परेका छौँ ।” धान गोड्ने बेलामा सामान्य रोगको प्रकोप देखा परेसँगै कृषि ज्ञान केन्द्र तथा औषधी पसलबाट कीटनाशक औषधि लगाएपछि नियन्त्रण भएको रोग पछिल्लो समय व्यापक रूपमा फैलिँदा सबै धान नष्ट भएको स्थानीय कृषकले बताएका छन् । वर्षभरि खाने खाद्यान्न खेतभरि डढेर सोत्तर भएको देख्दा आखाँभरि आँसु पार्दै भीमकुमारी दङ्गाल मनभरि पीडा भएको दुःखेसो गर्नुहुन्छ । 

धानमा रोग लाग्नेबित्तिकै विषादी प्रयोग नगर्दा यस्तो भएको सरोकारवालाको दाबी छ ।  उहाँको खेतसगैँ सिमाना भएका खेतमा रोग लाग्नेबित्तिकै विषादी लगाएसँगै रोग नियन्त्रणमा आएको थियो । उहाँले पनि पटक पटक विषादी प्रयोग गर्दा रोग नियन्त्रण नभएपछि धान नष्ट भएको हो । खेतमा रोग फैलिँदा मौसम अनुकूल हुनुका साथै चाँडो रोग फैलिएर रोग नियन्त्रणबाहिर भएकाले यस्तो अवस्था भएको कृषि ज्ञान केन्द्र भोजपुरका बागवानी विकास अधिकृत सुवास दाहालले     बताउनुभयोे ।

 उहाँका अनुसार उक्त रोगको कीटाणु धान गोड्ने बेलादेखि सुरु भएर पसाउने बेलामा ज्यादै सक्रिय हुने गर्दछ । सो बेला तत्काल नियन्त्रण नभए प्रकोपकै रूपमा रोग फैलिने हुन्छ ।यता कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख गणेश खत्रीका अनुसार उक्त प्रकोप (रोग) धान गोड्ने र पसाउने बेलामा जिल्लाभरि नै फैलिएको भए पनि धान नै नष्ट भने बोखिममा मात्र भएको बताउनुभयो । रोग नियन्त्रण नहुनुको मुख्य समस्या कृषकले ढिलो जानकारी दिने, सही विषादी प्रयोग नगर्ने, एकै प्रकारको बिउ बर्सेनि प्रयोग गर्ने, सिँचाइमा ध्यान नदिने कारणले भएको बताउनुभयो ।