इटहरी । काठमाडाैमा भएकाे लुटपाट प्रकरणमा प्रहरी अधिकारीकै संलग्नता पुस्टी भएकाे छ ।  नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई), सहायक हवल्दार र जवान समेतको मिलेमतोमा डाँकाचोरी घटनामा संलग्न पाँचै जना जेल चलान भएका छन् ।

डाँकाचोरी घटनामा पक्राउ परेका प्रहरी वृत्त महाराञगञ्जमा कार्यरत असई ४३ वर्षीय सुनबहादुर तामाङ, ३३ वर्षीय सहायक हवल्दार खगराज अधिकारी, २२ वर्षीय जवान भुवन बरालसहित सुनसरीको तरहरा घर भइ काठमाडौं बस्दै आएका २८ वर्षीय मदन पुरी र सोही ठाउँका २५ वर्षीय सन्तोष पुरी जेल चलान भएका हुन् ।

उनीहरुलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको इजलासले बुधबार पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । अहिले कारागार चलान भएका ५ जनाविरुद्ध कुमार रोकाले प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीकर्ता रोका असोज २१ गते राति ठमेलबाट बालुवाटार जान लागेका थिए । सोही बेला ३ जना महिलाले लिफ्ट मागेकाले आफूले उनीहरुलाई लिफ्ट दिएको रोकाको जाहेरीमा उल्लेख छ ।

रोका र उनका साथी नवराज नगरकोटी छुट्टा–छुट्टै कार चलाएर ठमेलबाट बालुवाटारतर्फ गइरहेका थिए। रोकाका अर्का साथी पनि सँगै, कारको अगाडिको सिटमा सवार थिए ।

ठमेलबाट पानीपोखरी पुग्दा, रातिको करिब साढे ११ बजेको थियो । त्यतिबेला हाल प्रतिवादी बनाइएका सन्तोष पुरीले दुबै कारलाई रोकेको थिए । त्यसपछि पुरीले ‘यी केटीहरुलाई कहाँ बेच्न हिँडेको ?’ भन्दै प्रश्न गरेका थिए । त्यसपछि उनीहरु सबैलाई कारबाट उतारेर ड्युटीमा रहेका असई सुनबहादुरले प्रहरी भ्यानमा राखेर त्रिवि शिक्षण अस्पताल हुँदै निर्मल निवासको गल्लीतर्फ लगेको रोकाको भनाइ छ ।