काठमाडौं । रौतहटमा बम विष्फोटका घाइतेलाई ज्यूँदै इँटाभट्टामा जलाएको आरोप लागेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको मुद्दामा अन्तिम बहस सकिएको छ । जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको इजलासमा बुधबार पीडित पक्ष, सरकारी पक्ष र आलम पक्षका वकिलको बहस सकिएको हो ।

बुधबार सबै पक्षको बहस सकिएपछि न्यायाधीश बानियाँको इजलासले १५ दिनभित्र लिखित बहस नोट पेस गर्न आदेश गरेको छ । आलम सामुहिक हत्याको अभियोगपछि पुर्पक्षका लागि थुनामा छन् । ०६४ सालको संविधानसभा निर्वाचनमा बम बनाउँदै गर्दा विष्फोट भएर घाइते भएकाहरूलाई इँटाभट्टामा जलाएको अभियोग उनीमाथि छ । रौतहट जिल्ला अदालतमा केही दिनदेखि लगातार चलेको बहस बुधबार सकिएको श्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए ।

‘मुद्दामा पीडित पक्षका र विपक्षका वकिलसहित सरकारी वकिलको बहस सकिएको छ’, श्रेस्तेदार ढोडारीले भने, ‘१५ दिनको म्याद राखेर लिखित बहस नोट पेस गर्न पत्राचार हुन्छ । उहाँहरूले पत्र बुझेको १६औँ दिन पेसी तोकिन्छ र अन्तिम आदेश हुन्छ ।’ उनले मुद्दा हेर्दाहेर्दैमा नराखिएकाले कुन न्यायाधीशको इजलासबाट आदेश हुन्छ भन्न नसकिने बताए । यस्तै, न्यायाधीश बानियाँको इजलासले अदालतका कर्मचारीहरूलाई पनि मुद्दाको सार संक्षेपीकरण बनाएर इजलासमा पेस गर्न आदेश गरेको छ ।