सिरहा । सिरहाको गोलबजार नगरपालिका–३ जमदहस्थित सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार साह विद्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

विद्यालयको निमार्णधीन तेस्रो तल्लाको सभाहलमा झुण्डिएको अवस्थामा आइतबार साह भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता तथा प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए । मिर्चैया नगरपालिका–६ निवासी प्रधानाध्यापक साहको मोटरसाइकल विद्यालयमै भेटिए पनि उनी नभेटिएपछि लामो समयसम्म खोजी भएको थियो । खेजीको क्रममा शिक्षक साह विद्यालयमै झुण्डिएको अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

बिहानै विद्यालय पुगेका शिक्षक साह किन झुण्डिएको भन्ने विषयमा अहिलेसम्म केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।सिराहाको गोलबजार नगरपालिका– ३ जमदहमा रहेको सरस्वती माध्यमिक विद्यालयमा मृत भेटिएका प्रधानाध्यापक सञ्जीवकुमार साहको हत्या भएको भन्दै परिवारजन र स्थानीयले विरोधमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

स्थानीय र परिवारजनले सिराहाको मिर्चैया बजारको कटारीचोकमा घटनाको छानबिन र दोषीलाई कारबाहीको मागसहित प्रदर्शन गरेका छन् । पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी विरोध भएसँगै सयौँ सवारीसाधन अलपत्र परेका छन् । प्रहरीले अवरुद्ध राजमार्ग खुलाउन पीडित परिवार र स्थानीयसँग समन्वय गरिरहेको छ ।

पत्नीद्वारा आत्मदाहको चेतावनी

प्रअ साहका पत्नी मीनाकुमारी साह राजमार्गमै सुतेकी छन् । उनले घटनाको निष्पक्ष छानबिन गरी हत्यारालाई कारबाही नगरिए ‘आत्मदाह’ को चेतावनी समेत दिएकी छिन् । विद्यालय व्यवस्थापन समिति गठन भएदेखि श्रीमानलाई बढी प्रेसर थपिएको भन्दै उनले समितिले कुनै काम गर्न नदिएको बताएकी छिन् । व्यवस्थापन समितिको दबाबका कारण सरुवा हुन खोजे पनि हुन नदिएको उनको भनाइ छ ।