काठमाडौँ । योगराज ढकाल ‘रिगल’ लाई कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ आज (बुधबार) पुनः हुने भएको छ । सर्वोच्च अदालतले मंगलबार सुनुवाइ सम्पन्न नभएपछि ‘हेर्दाहेर्दै’ मा राखेको थियो ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा मंगलबार भएको सुनुवाइमा सरकारी पक्षले बहस भएको थियो । मंगलबार महान्यायाधिवक्ता डा.दिनमणि पोखरेल, नायब महान्यायाधिवक्ता विश्वराज कोइराला र नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मीले सरकारका तर्फबाट बहस गरेका थिए ।

संविधान दिवसका अवसरमा यही असोज ३ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट ‘गुण्डा नाइके’ का रुपमा चिनिएका योगराज ढकालको कैद मिनाहा भएको थियो । राष्ट्रपतिको निर्णयविरुद्ध हत्या गरिएका चेतन मानन्धरको पत्नी भारतीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।

निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेको नेतृत्वमा बहस भएको थियो । गत असोज १८ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले रिगललाई आममाफी दिन सिफारिस गर्नुपर्नेको कारणसहितको सम्पूर्ण सक्कल मिसिल गत असोज २४ गतेभित्र झिकाउन आदेश गरेको थियो ।