काठमाडौं । नेपालमा अपराध अनुसन्धानमा पहिलो पटक ‘ब्रेन म्यापिङ’ विधिको प्रयोग गरिएको छ । गैरीगाउँस्थित एक स–मिलमा चार जनाको हत्या आरोपमा पक्राउ परेका सञ्जय भण्डारीको ब्रेन म्यापिङ गराइएको हो ।

उनले गैरीगाउँ बाहेक नक्सालस्थित भाटभटेनी, सुकेधारा, रातोपुल, भक्तपुर, बोद्ध र सिन्धुपाल्चोकमा पनि हत्या गरेको बताएपछि प्रहरीले उनको ब्रेन म्यापिङ गराएको हो । यो परीक्षण आरोपितको मानसिक अवस्थाका बारेमा बुझ्न गरिन्छ । स्वास्थ्य अवस्था बुझ्न पोलिग्राफ पनि गराउने गरिन्छ । पोलिग्राफबाट प्रश्नोत्तर गरेर आरोपीले ढाँटे–नढाँटेको पत्ता लगाइन्छ । तर, सञ्जय जन्मजात नै बोल्न सक्दैनन् । उनी बोल्न नसक्ने (फरक क्षमता) भएकाले ब्रेन म्यापिङ गरिएको प्रहरीले स्रोत बताउँछ ।

‘सरकारी अस्पतालमा कार्यरत मनोचिकित्सकको नेतृत्वमा ब्रेन म्यापिङ गरिएको छ । र उनले दिएको बयानको क्रसचेक गरिएको छ । यद्यपि, अझै केही जाँच बाँकी नै छन्’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने । तीनकुनेस्थित दिव्य सः मिलभित्र २९ भदौमा ४ जनाको हत्या भएको घटनामा दुई दिनपछि प्रहरीले क्लोज सर्किट (सीसी) क्यामरा फुटेजको आधारमा भण्डारीलाई पक्राउ गरेको थियो । सांकेतिक भाषाका विज्ञको सहयोगमा प्रहरीले उनीसँग बयान लिएको थियो ।