काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने क्रममा एक किलो ४ सय ९१ ग्राम सुन हिनामिना भएको निष्कर्ष निकालेको छ ।

जलहरी निर्माणका क्रममा अनियमितता भएको भन्दै अख्तियारले कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकाल, तत्कालीन कोषाध्यक्ष एवं हालका सदस्य सचिव डा. मिलन थापा र स्टोरकिपर अरुणकुमार श्रेष्ठविरुद्ध आइतवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध एक करोड १७ लाख १ हजार ७ सय ८१ रुपैयाँ बिगो दाबी गरिएको छ । पशुपतिमा चढाइएको सुनको जलहरी सम्बन्धमा अख्तियारले तौल नापजाँच गरेर अनुसन्धान गरेको थियो ।

कुल एक किलो ५६५ ग्राम सुनको परिमाण फरक परेकोमा राष्ट्र बैंकको मापदण्डअनुसार ०.०७२ प्रतिशतले हुन आउने जर्ती कटाएर बाँकी सुन हिनामिना गरेको पाइएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ । बदनियतपूर्वक सुनको जलहरी निर्माणका क्रममा हानीनोक्सानी भएको १४९१.७१८ ग्राम सुनको नेपाल राष्ट्र बैंकसँग किनेको मूल्यमा पर्न आउने मूल्य १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ बिगो दाबी गरिएको हो ।

सो दिनको प्रतिग्राम मूल्य ७८४४.५० रुपैयाँका दरले १४९१.७१८ ग्राम सुनको पर्न आउने मूल्य १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ भ्रष्टाचार गरिएको निष्कर्ष अख्तियारले निकालेको हो । शुरूमा हिनामिना गरिसकेपछि माइन्युट सच्याएर बाँकी सुनको रिङ लगाएको भनी उल्लेख गरिएको समेत विज्ञप्तिमा जनाइएको छ ।