इटहरी/ बिकास–निर्माणकर्ताहरुको सञ्जाल इटहरीले असोज २०देखि ‘इटहरी सांस्कृतिक पर्यटन महोत्सव’ गर्ने भएको छ। १५दिन सम्म सञ्चालन हुने महोत्सवमा स्थानीय उत्पादन तथा सांस्कृतिक प्रस्तुतिलाई प्राथमिकता दिईने भएको हो।

आयोजक ‘बिकास–निर्माणकर्ताहरुको सञ्जालले शनिबार(आज) दिउसो पत्रकार सम्मेलन गर्दै असोज २० देखि कात्तिक ४गतेसम्म आँपगाछी चोकमा ‘इटहरी सांस्कृतिक पर्यटन महोत्सव’ सञ्चालन गर्ने कार्यक्रम संयोजक राजु बस्नेतले बताउनुभयो।

बस्नेतको संयोजकत्वमा मूल समिति रहेको र मुल समिति मातहतमा आर्थिक, प्रचारप्रचार, स्वागत–सत्कार, सुरक्षा र समारोह व्यवस्थापन गरेर पाँचवटा उपसमिति गठन गरि महोत्सवमा इटहरीको पहिचान झल्किने कृषि उत्पादन, सांस्कृतिक तथा पर्यटनसम्बन्धी प्रवर्धनात्मक गतिविधिलाई प्राथमिकता दिइने बिकास–निर्माणकर्ताहरुको सञ्जाल इटहरीका अध्यक्ष विसुधन राईले बताउनुभयो।

संयोजक बस्नेतले १५दिन सञ्चालन हुने महोत्सवमा हरेक दिन राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारका साथमा स्थानीय कलाकारको विशेष प्रस्तुति रहने बताउनुभयो। स्थानीय जातीय सांस्कृतिक प्रस्तुतिलाई प्राथमिकता दिँदै हरेक दिन एक जातिको सांस्कृतिक झाँकी प्रदर्शन हुने र महोत्सवमा सिलोक, बालन, साकेला, हुर्रा, झुम्रा, विरहन, धाननाच, उरावँ नाच आदि सांस्कृतिक प्रस्तुतिले प्राथमिकता पाउने बताउनुभयो।

महोत्सवस्थलमा लागुऔषध दुब्र्यसन बिरुद्ध सचेतना, जनजाति भेषभूषा प्रदर्शनी, लगायत २० वटा स्टलहरू रहने आयोजक सँस्थाका अध्यक्ष विसुधन राईले बताउनुभयो।

कार्यक्रममा करिव ५८ लाख रुपैँया खर्च हुने र टिकट बिक्रि एवं प्रायोजकहरुबाट संकलित रकमबाट करिव ६० लाख रुपैँया आम्दानी हुने आयोजकको अनुमान छ । महोत्सवबाट नाफा भएको रुपैँया विपद् व्यवस्थापन कोष बनाएर राखिने संयोजक बस्नेतले बताउनुभयो।

महोत्सवलाई इटहरी उपमहानगरपालिका, इटहरी २वडा कार्यालय, संगित साधना प्रतिष्ठान नेपाल, तालतलैया बिकास तथा संरक्षण समिति, शान्तिनगर सामुदायिक वन उपभोक्ता समूह, युथ क्लव आँपगाछीले संरक्षण गर्ने छन्।