खाेटाङ/ गोरु काटेर सामुहिक भोज खाएको आरोपमा एकजना युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय खोटाङले मंगलबार एकजना युवकलाई पक्राउ गरेको हो। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित मसानेडाँडामा सोमबार दिउँसो गोरु काटेर सामूहिक भोज खाएको आरोपमा रावाबेंसी गाउँपालिका–६ हौँचुरका २७ वर्षीय बादल गुरुङ पक्राउ परेका हुन्।

बादल गुरुङ लगायत स्थानीयले गोरु काटेर सामूहिक भोज खाएको सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक टीकाराज बरालले बताए। बरालका अनुसार गुरुङलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। गोरु काटेर खाएको पुष्टि भएमा कानुन बमोजिम कारबाही हुने उनले बताए।

मङ्गोल नेशनल अर्गनाइजेसन पार्टीका कार्यकर्ताले सोमबार सांस्कृतिक क्रान्ति भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित मसानेडाँडामा गोरु काटेर भोज खाएको भिडिओ र तस्बिर सामाजिक सञ्जालमा आएको थियो।मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीका कार्यकर्ताले यसअघि पनि झापा लगायत जिल्लामा गोरु काटेर सामूहिक भोज गरेको उक्त भिडिओमा बताइएको थियो।

गोरु-गाई काटेर खाएको आरोपमा कारबाही तीव्र पारिएपछि प्रतिरोधमा सामूहिक भोज खाने अभियान चलाइएको छ। धरानमा पनि गोरु काटेर सामूहिक भोज गरेपछि जातीय तथा धार्मिक द्वन्द्वको जोखिम बढेको थियो। तर मङ्गोल नेसनल अर्गनाइशसनका खोटाङ इन्चार्ज टंकबहादुर मगरले उक्त घटनामा आफूहरुको संलग्नता नरहेको जिकिर गरेका छन्।