इटहरी/ पूर्वी नेपालमा बसोबास गर्नेहरुले गैँडा हेर्न चितवन पुग्नु नपर्ने भएको छ। चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुईवटा टुहुरा गैँडा पुष्पा र अञ्जलीलाई कोशी टप्पु ल्याइने भएपछि गैँडा कोसी प्रदेशमा नै हेर्न पाईने भएको हो।

असोज १० गते पुष्पा र अञ्जलीलाई कोशी टप्पु ल्याउन लागिएको र पठाउने प्रकृया शुरु गरिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक वार्डेन गणेश प्रसाद तिवारीले बताउनुभयो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको निर्णय अनुसार पुष्पा र अञ्जलीलाई कोशी टप्पु आरक्षमा स्थानान्तरण गर्न लागिएको तिवारीको भनाई छ।

कोशी टप्पुमा प्राविधिक समितिले गरेको अध्ययनमा गैँडाका लागि बासस्थान उपयुक्त देखिएपछि पुष्पा र अञ्जलीलाई ल्याउन लागिएको हो। बिभागका तत्कालिन उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा बनेको प्राविधिक समितिले विस्तृत अध्ययनपछि प्रतिवेदन बुझाएको थियो। प्रतिबेदनमा कोशीमा गैडाको उपयुक्त बतावरण निर्माणका साथै सुरक्षा ब्यबस्थाको प्रबन्ध मिलाएर ल्याउन भनिएको ढकालले बताउनुभयो।

कोशी टप्पु वन्यजन्तु आरक्षमा हाल गैँडा छैनन्। चितवनबाट ल्याईएका गैँडालाई खुल्ला खोरमा केही समय राखेपछि यहाँको वातावरणमा घुलमिल भएपछि प्रकृतिमा छाडिने निकुञ्जले जनाएको छ। कोशीको पथरी सेक्टर कार्यालयको आरक्ष सुरक्षार्थ रहेको सेनाको पोष्ट क्षेत्र नजिक गैँडालाई राखिने जनाईएको छ।

चितवन राष्ट्रिय निकुञ्जका वार्डेन तिवारीले उद्धार गरेर सौराहामा हुर्काएपछि गत बैशाख ३१ गते निकुञ्जको लामिताल क्षेत्रमा छाडिएका पुष्पा र अञ्जलीलाई कोशी ल्याउन लागिएको बताउनुभयो। ती दुवै पोथी गैँडा हुन्। ती गैँडा तमासपुर र कुजौली क्षेत्रमा माउबाट छुटिएको अवस्थामा अन्दाजी दुई र एक महिना उमेरमा उद्धार गरिएको थियो।

अहिले पुष्पा करीब ४बर्ष र अञ्जली अढाई वर्ष उमेरका छन्। गैँडा पठाउन सबै तयारी भईसकेको निकुञ्जका सूचना अधिकारी समेत रहेका गणेशप्रसाद तिवारीले बताउनुभयो। गैंडा पठाउन पुरानो खोरलाई पनि मर्मत गरिएको छ। पछिल्लो गणना अनुसार चितवनमा ६ सय ९४ गैँडा रहेको तथ्यांक छ।