इटहरी । मोरङ प्रहरीले १० लाख ५० हजार भारतीय रुपैयाँसहित विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१६ दक्षिण गेटबाट भारत बिहारको खगडीया गाउँ पञ्चायत महेशखुटका ३२ वर्षीय चन्दनकुमार यादवलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रानीको टोलीले आज पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार पक्राउ परेकाको साथबाट १० लाख ५० हजार भारतीय रूपैयाँ (नेपाली १६ लाख ८० हजार रुपैयाँ) बरामद भएको छ ।

पैदल यात्रा गरिरहेका यादवले बोकेको झोलाबाट ५ सय दरका भारतीय नोट बरामद प्रहरीले गरेको थियो । बरामद भएको नोटसहित यादवलाई आवश्यक कारबाही प्रक्रिया अघि बढाउन राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी प्रहरीले गरेको छ ।