झापा । झापा गौरादहका सोमराज विश्वकर्मा दम्पतीले २४ करोड ठगी आरोपमा पक्राउ परेको घटना सेलाउन नपाउँदै झापाको बिर्तामोडमा ‘पंकज चामल भण्डार’सञ्चालन गर्दै आएका एक व्यापारी ८० करोड रुपैयाँ ठगेर भागेका छन् । भारत पश्चिम बंगालस्थित राजगञ्ज स्थायी ठेगाना भएका पंकज अग्रवालले पाँचथर, ताप्लेजुङ, इलाम, झापा र सुनसरीका दुई सयभन्दा बढीबाट ८० करोड रकम ठगेर फरार भएका छन् ।

उनी धेरै सर्वसाधारण एवम् व्यापारीलाई ठगेर बेपत्ता भएको भन्दै उजुरी परेको छ । अग्रवालले पाँच जिल्लाका दुई सयभन्दा धेरै व्यवसायीसँग न्यूनतम २५ हजारदेखि अधिकतम ८० लाख रुपैयाँसम्म ठगेर भागेको प्रहरीमा पीडितले दिएको सापटी र ब्याजमा रकम लिएर फरार भएको भन्दै प्रहरीमा उजुरीको चाङ लागेको छ । अग्रवालले स्थानीयको ८० करोडभन्दा धेरै रकम लिएर भागेको पीडितको दाबी छ ।अग्रवालले पैसा दिँदा केही कारोबारीलाई कपाली तमसुक र केहीलाई भर्पाई गरिदिएको पाइएको छ । पीडितले भएका सबै प्रमाण उजुरी पत्रसँगै संलग्न राखेका छन् । ठगीमा परेकामध्ये १७ जनाले बिहीबार जिल्ला प्रहरी पाँचथरमा सामूहिक निवेदन दिएका थिए ।

यसअघि अग्रवालबाट पीडित १३ जनाले इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिइसकेको प्रहरीले जनाएको छ । उनले केही कारोबारीलाई भाखा पुगेका दिन पैसा निकाल्नु भन्दै दिएका चेकको खातामा रकम नभएको पीडितहरूले बताएका छन् । ब्याजको प्रलोभनकै कारण टाढाबाट आएका व्यापारीलाई कारोबारीले ठुलो परिमाणमा पैसा सापटी दिने, भरपर्दो कागज नबनाउने र भागिसकेपछि मात्रै प्रहरी प्रशासन गुहार्ने गरेका कारण ठगिने क्रम नरोकिएको प्रहरीको भनाइ छ ।

बिर्तामोडमा पसल सञ्चालन गर्दै आएका उनी व्यवसायीबाट अलैँची र नगद लिएर एक महिनादेखि बेपत्ता भएका हुन्। उनी श्रीमती, बुबा, आमा र छोरीसँग बिर्तामोडमा बस्दै आएका थिए । अग्रवाल सपरिवार एक महिना अघिदेखि बेपत्ता भएको भन्दै पीडितले प्रहरीमा उजुरी गरेका हुन् । उनका बुबा भारतबाट आएर ५० वर्षदेखि बिर्तामोडमा व्यापार गर्दै आएका थिए । पंकजको नाममा झापाबाटै ०४–०१–६९–१०९५३ नम्बरको नागरिकता जारी भएको छ ।

पंकज व्यापारी व्यावसायीको करोडौँ ठगेर बेपत्ता भऐसँगै ठगीमा परेकाहरु दैनिक प्रहरी र प्रशासनमा धाइरहनुपरेको पीडित युद्धबहादुर बोहोराले बताए ।