कैलाली । कैलालीको धनगढीस्थित प्रहरी स्कुलकी एक शिक्षिका मृत भेटिएकी छन् । बिहीबार धनगढी उपमहानगरपालिका– ३ चटकपुरमा दार्चुलाको मार्मा गाउँपालिका–६ घर भएकी २२ वर्षीया शिक्षिका राजेश्वरी डडाल मृत भेटिएकी हुन् ।

शिक्षिका डडालले धनगढीको दीपेन्द्र प्रहरी स्कुलमा पढाउँदै आएकी थिइन् । यस्तै घटनामा संलग्नता रहेको आंशकामा प्रहरीले २५ वर्षीय जगदीश कोट्टारीलाई पक्राउ गरेको छ । शिक्षिका डडाल मृत भेटिएको घटनामा पीडित पक्षले दिएको किटानीका आधारमा कोट्टारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताएका छन् ।

चटकपुरमा आफन्तको घरमा बस्दै आएकी डडाल घरभन्दा करिब डेढ सय मिटर उत्तरतर्फ मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक र पक्राउ परेका कोट्टारी प्रेम सम्बन्धमा रहेको पाइएको प्रहरीको भनाइ छ । कोट्टारी विवाहित हुन् । उनी अखिल क्रान्तिकारीबाट उम्मेदवार भएर दार्चुलाको लटिनाथ क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका थिए । मृतकका परिवारले कोट्टारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ ।