झापा । सवारी जाँचमा खटिएका इलाका प्रहरी कार्यालय झिलझिले झापाका इञ्चार्ज एवं प्रहरी निरीक्षक युवराज कटुवालमाथि बञ्चरो प्रहार भएको छ । कटुवाललाई बिहीबार साँझ ७ बजेतिर एक युवाले धारिलो हतियार प्रहार गरेर घाइते बनाएका हुन् ।

झापाको पूर्वपश्चिम राजमार्गस्थित झरना खोला नजिक नियमित सवारी जाँचमा प्रहरी निरीक्षक कटुवाल र अर्का एक जना प्रहरी खटिएका थिए । तीन जना युवा सवार एउटा मोटरसाइकललाई रोकेर नियन्त्रणमा लिने क्रममा एक युवाले बञ्चरोले कटुवाललाई अचानक प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।

घाइते प्रहरी निरीक्षक कटुवालको टाउको र हातमा गम्भीर चोट लागेको छ । बिर्तामोडको बिएण्डसी अस्पतालमा उनको उपचार भइरहेको छ । प्रहरीले आक्रमणमा संलग्नसहित तीनै जना युवालाई नियन्त्रणमा लिएको छ । आक्रमणमा संलग्न युवा मादक पदार्थ सेवन गरेर लठ्ठ भई मोटरसाइकलमा सवार रहेको पाइएको प्रहरीले जनाएको छ ।