मोरङ । मोरङको विराटनगरस्थित ग्रिनक्रस अस्पतालबाट बेपत्ता पारिएकी शिशु सात लाख रुपैयाँमा किनबेच भएको खुलासा भएको छ । अस्पतालका चिकित्सक तपेश्वर लाल कर्णको योजनामा बिक्री भएको उक्त शिशुका लागि खरिदकर्ताले सात लाख रुपैयाँ दिएको खुलेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार शिशु खरिद गर्ने दिलमाया राजवंशीले डा. कर्णले शिशुको मूल्य पाँच लाख लिएको र उपचारका लागि थप दुई लाख रकम लिएको बयान दिएकी छिन् । प्रहरीले मंगलबार दिलमायाको घरबाट उक्त शिशुको उद्धार गरेको छ ।

अविवाहित जोडीबाट जन्मिएको उक्त शिशु बेपत्ता पारिएको भन्दै शिशुकी आमाले प्रहरीमा उजुरी दिएकी थिइन् ।अनुसन्धान गर्दै जाँदा मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलकी दिलमाया राजवंशीलाई शिशु बिक्री गरेको पत्ता लागेको हो । उक्त शिशुलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने भएकाले उपचारका लागि दुई लाख रकम दिएको राजवंशीले बयानमा बताएकी छिन् ।

मोरङ प्रहरीले यो प्रकरणमा संलग्न ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिशु बिक्रीमा संलग्न चिकित्सक कर्ण, खरिद गर्ने दिलमाया, अस्पतालमा कार्यरत सुधा राजवंशी, दिलमायाका पती सूर्यनारायण राजवंशी, भोजपुरको हतुवागडी गाउँपालिका–४ का गोविन्द राई र सिरहाको कल्याणपुर नगरपालिका–१२ की निर्मला यादव छन् । असार १४ गते जन्मिएकी नवजात शिशुलाई बेपत्ता पार्ने उनीहरुलाई अदालतबाट पाँच दिनको म्याद थप भइ अनुसन्धान भइरहेको मोरङ प्रहरीले जानकारी दिएको छ ।