झापा । झापाकाे बिर्तामोडबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका- ३ बस्ने ३५ वर्षीय सन्तोष भन्ने तेज बहादुर राई र सोही ठाउँका ३८ वर्षीय राज भन्ने कृष्ण लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मङ्गलवार साँझ साढे ५ बजे बिर्तामोड -४ स्थित नयाँ बिजुली अफिस छेउ नजिकै सुरेश अग्रवालको घर आसपासबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा १० ग्राम ५०० मिलिग्राम ब्राउन सुगर र दुई थान मोबाइल बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनि राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।