सर्लाही । सर्लाहीमा सशस्त्र प्रहरीले २ थान हतियारसहित २ जनालाई पक्राउ गरेको छ। संग्रामपुरस्थित बोर्डर आउट पोस्ट (बीओपी) ले शनिबार राति पर्सा गाउँपालिका-६ स्थित सीमा क्षेत्रबाट २ जनालाई हतियारसहित नियन्त्रणमा लिएको हो।

हतियार लिएर भारतबाट नेपालतर्फ आउँदै गरेका सर्लाहीको हरिपुर्वा नगरपालिका-६ बस्ने प्रकाश यादव र जीवन राय यादवलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो।

उनीहरु सवार बीआर १९ जीए ४१४१ नम्बरको मोटरसाइकल चेक गर्ने क्रममा ७.६५ मिमि पेस्तोल एकथान, म्यागजिन १ थान र सोको गोली १५ राउन्ड तथा कटुवा पेस्तोल १ थान र ५ राउन्ड गोली समेत बरामद भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

साथै उनीहरुबाट ११ हजार ६८० रुपैयाँ, भारतीय बैंकको एटीएम कार्ड पनि बरामद भएका छन्। सबै सामानसहित कारबाहीका लागि उनीहरुलाई राति नै जिल्ला प्रहरी कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।