काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ६ चिनियाँ नागरिकसँग नेपाली नागरिकता र राहदानी भेटिएको छ । नेपाली नागरिकता फेला पर्नेहरूमा तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसहित सात जना चिनियाँसँग नागरिकता भेटिएको प्रहरी स्रोतले बताएको छ ।

उनीहरूले जिल्ला प्रशाासन कार्यालय काभ्रेपलाञ्चोकबाट नागरिता लिएको खुलेको छ । उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो । पक्राउ परेकामाथि सीआईबीले नागरिता प्रकरणमा समेत अनुसन्धान गर्ने भएको छ । सुन प्रकरणका मुख्य नाइके भनिएका यो पुचेङलाई बिहीबार साँझ सिंहदरबारबाट सीआईबीले पक्राउ गरेको छ।
यस्तै बिहीबार साँझ नै ली वेङ सुङलाई पनि प्रहरीले लैनचौरबाट पक्राउ गरिसकेको छ । राजस्व अनुसन्धान विभागले पनि सुन ल्याउने चिनियाँ गिरोहका मुख्य नाइके उनीहरु ६ जना रहेको जनाएको छ ।

यस्तै प्रहरीले यही बुधबार काठमाडौंबाटै सुन तस्करी प्रकरणमा चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा टियान पिङ, वेन टोङ, डियाङ से फा र ली नेङ्गकाई थिए। पक्राउमध्ये पिङ महिला र अन्य तीन पुरुष थिए । उनीहरुले सन् २०२१ र २२ मा काभ्रे प्रशासनबाट नेपाली नागरिकता र राहदानी लिएको खुलेको छ । चिनियाँले नेपाली राहदानी र नागरिकता लिएको विषयमा सीआईबीले थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयमा पत्र पठाउने तयारी गरेको छ

नेपाली युवतीसँग बिहे गरेर नेपाली नागरिकता समेत लिएका दावा लामाले भने बेल्जियमको नागरिकता लिएका थिए । दावालाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो । हङकङ हुँदै आएको सुन तस्करी प्रकरणमा हालसम्म २३ जना पक्राउ परेका छन् । यसअघि यस प्रकरणमा अनुसन्धान गरेको राजस्व अनुसन्धान विभागले पक्राउ परेका १८ मध्ये १७ जनालाई सीआईबीको जिम्मा लगाएको थियो । जसमा एक जना भने छुटिसकेका छन् ।