झापा । लामो समयदेखिको खडेरी र तापक्रम वृद्धिका कारण पर्वतमा बर्खेबाली रोपाइँ प्रभावित बनेको छ । यतिबेला धमाधम कोदो र धान रोपाइँ सुरु हुने बेला भए पनि वर्षा नभएका कारण कृषकले रोपाइँ गर्न पाएका छैनन् । विगतका वर्षमा यतिबेला कोदो रोपाइँ सकिन्थ्यो । केही वडामा धान रोपाइँ भइसकेको हुन्थ्यो । तर यस वर्ष भने जिल्लामा कतै पनि रोपाइँ सुरु हुन नसकेको किसानको भनाइ छ । लामो समयदेखि वर्षा नभएका कारण कोदोको बीउ सुक्न थालेको छ भने मकैलगायत खेतबारीमा लगाएका अन्य गेडागुडी खेतीसमेत ओइलाउन थालेको कुश्मा नगरपालिका–१२ का कृषक रामप्रसाद सापकोटाले बताउनुभयो ।
 
“गत वर्ष कोदो रोपेर धान रोपाइँ सुरु गरेका थियौँ”, उहाँले भन्नुभयो, “यस वर्ष अहिलेसम्म रोपाइँ हुन सकेको छैन । कोदोको बीउ सुकिसकेको छ भने धानको बीउसमेत राख्न पाइएको छैन ।” जेठ अन्तिम सातासम्म वर्षा नभएपछि कतिपयले धुले बीउ राख्न थालेका छन् ।सिँचाइको सुविधा भएका ठाउँमा समेत खोलानाला सुकेका कारण समयमै बीउ राख्न र रोपाइँ गर्न समस्या भएको फलेबास–५ का हरि पौडेलले बताउनुभयो । पछिल्ला केही दिनयता तापक्रम ह्वात्तै बढेकाले बालीसमेत ओइलाउन थालेको उहाँको भनाइ छ ।
 
पर्वतका अधिकांश वडामा वर्षाको भरमा खेतीबाली लगाउँदै आइएको छ । करिब सात हजार हेक्टर जमिनमा सिँचाइको सुविधा भए पनि खोलानाला सुकेकाले समस्या भएको हो । जिल्लाको मुख्य बाली धान हो भने कोदो दोस्रो मुख्य बाली हो । मकै र गहुँ क्रमशः तेस्रो र चौथो बालीका रूपमा उत्पादन हुने गरेको छ ।जिल्लाभर नौ हजार ५० हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ भने झन्डै सात हजार हेक्टरमा कोदो र मकैखेती हुने गरेको छ । मुख्य बाली लगाउने समयमै खडेरी परेका कारण कृषकलाई समस्या परेको छ ।
 
कृषि ज्ञानकेन्द्र पर्वतले लामो समयदेखि वर्षा नहुँदा पर्वतमा रोपाइँ गर्न समस्या भएको जनाएको छ । मौसम सक्रिय नभएसम्म रोपाइँ गर्न नपाउने भएपछि कृषक समस्यामा परेका छन् ।वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले जेठको अन्त्य वा असारको पहिलो सातासम्म मनसुन सक्रिय भए उत्पादनमा असर नगर्ने बताउनुभयो । उहाँले रोपाइँ गरिसकेपछि साउन र भदौमा समेत निरन्तर वर्षा भएमा धान, कोदो उत्पादन राम्रो हुने उहाँको भनाइ छ । जिल्लाका सात पालिकाका ६१ वडाकै कृषक यतिबेला मनसुनको पखाईमा छन् ।