सुनसरी/ प्रधानमन्त्री के.पी शर्मा ओलीले सम्बोधन गर्ने प्रदेश स्तरीय भेलालाई समर्थन गर्दै राष्ट्रिय यूवा संघ नेपालले मोटरसाईकल र्‍याली निकालेको छ। फागुन ८गते बिराटनगरमा हुने एक नम्बर प्रदेश स्तरीय भेलालाई समर्थन गर्दै यूवा संघले र्‍याली निकालेको हो।

राष्ट्रिय युवा संघ सुनसरीले गरेको मोटरसाइकल र्‍याली इटहरी देखी शुरु भएर इनरुवामा पुगेर कोणसभामा परिणत भएको थियो। र्‍यालीमा करिव ३५सय मोटरसाइकल सहभागी भएको राष्ट्रिय युवा संघ सुनसरीका सदस्य सुजन लामाले जानकारी दिनुभयो।

 र्‍यालीपछि भएको कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका सचिव देवानन्द मेहताले आजको मोटरसाइकल र्‍यालीले युवाको क्रेज नेकपा अध्यक्ष के.पी शर्मा ओलीको पक्षमा रहेको बताउनुभयो।

कोणसभामा प्रमुख अतिथि रहनु भएका नेकपा जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीले सुनसरीमा के.पि शर्मा ओलीको जनलहर छाएको सुनसरी पुन नेकपाको लालकिल्ला हुने जिकिर गर्नुभयो। भण्डारीले देशै ओलीमय भएको भन्दै नेकपा (दाहाल-नेपाल) समूहमा कार्यकर्ताको उत्साह नरहेको दावी गर्नुभयो।

कार्यक्रममा राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष अरुण गुरुङले सुनसरीका अधिकांश युवा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष के.पी शर्मा ओलीको पक्षमा रहेको र सबै युवालाई फाल्गुन ८ गते बिराटनगरमा हुने बृहत् भेलामा सरिक हुन अनुरोध गर्नुभयो।