बिश्व नै हाल कोभिड-१९ का कारण प्रभावित छ। संसारभरका करोडौँ बालबालिका बिद्यालय शिक्षाबाट बञ्चित छन्। मानिस परिस्थितिको दास बनेको छ। बिभिन्न आविष्कार, अन्वेषणबाट धेरै उपलब्धि प्राप्त गरेका राष्ट्र र बैज्ञानिकहरु कोरोनाबाट हैरान बनेका छन्।
माक्स बहिष्कार गरेर बसेका, हिडेका अमेरिकाका राष्ट्रपती डोनाल्ड ट्रम्पसमेत माक्स लगाउन बाध्य भएका छन्। मानिस पद, पैसा र शक्तिले केही हुदैन भन्ने निष्कर्ष निकाल्दै जीवनरक्षाको लडाइमा जुटिरहेको बेला मेरो देशमा श्रमजीवी सर्वहारा बर्गको नेतृत्व गर्ने, निमुखाको पक्षमा वकालत गर्ने पार्टी र त्यसका नेताले सरकारको नेतृत्व गर्नुभएको छ।
सरकारले कतिपय राम्रा काम पनि गरेको छ। त्यसको प्रसंसा गर्नुपर्छ तर जनताको चाहना, अपेक्षाअनुरुप कार्य नभए पनि यो सरकारले न्युनतम कम्युनिष्ट सिद्धान्त दर्शन चुनावी घोषणापत्र र संविधानले मार्गदर्शन गरेअनुसार समाजवादको गोरेटो निर्माण गर्छ भन्ने अपेक्षामा यसपटक प्रस्तुत गरिएको आर्थिक बर्ष २०७७/ ०७८ को बजेटमा रहेका केहि नीतिगत व्यवस्था र वाक्यांशले प्रशस्त शंका जन्माएको छ।
राष्ट्रियताको पक्षमा उभिएको यो सरकारले नेपालको मिचिएको भूमीसहितको नक्सा सार्वजनिक गर्दा गर्वले फुलिएको मेरो छातिमा पास नभएको एमसीसी अनुदान बजेटमा समावेश गर्दा असह्य पीडाबोध भएको छ।
के यो गर्नु ठीक हो ? हुन त म सामान्य चेतना उक्सेको नागरिक धेरै कुरा बुझ्दिनँ। चौधबर्ष जेलजीवन बिताएका क्रान्तिका नायक मेरो देशका प्रधानमन्त्री हुनुहुन्छ। अत्यन्तै कुशल अर्थविद, बिज्ञ अर्थमन्त्री हुनुहुन्छ। मलाई आशा थियो यो सरकारले यो कोभिड-१९ को चुनौतीलाई अवसरको रुपमा लिनेछ र अब देश बिस्तारै समाजवादतर्फ जानेछ। शिक्षा, स्वास्थ्य र कृषिमा प्रशस्त बजेट र योजना आउने छ।
तर मेरो आशामा नुन चुक छर्कदै बजेटको १६६ नम्बर बुँदामा जे लेखियो, यो समाजवादमा पुग्ने मुल मन्त्र यहि हो कमरेड ?
देशभरका सामुदायीक बिद्यालयमा बिद्यार्थी संख्या घटिरहेको अवस्थामा पनि केहि सामुदायीक बिद्यालयहरुले अविभावकहरुको सहयोगमा सामुदायीक बिद्यालयको साखः जोगाएका छन्। त्यसका उदाहरणहरु हुन् कालिका ज्ञान मावि बुटवल, सत्यवति मावि तनहुँ, जनता मावि इटहरी सुनसरी, पोखरिया मावि बिराटनगर आदि।
यस्ता सयौँ बिद्यालय छन् ति बिद्यालयसँग अन्य निजि बिद्यालयको तुलना गर्नै मिल्दैन । तर सर्वहाराले नेतृत्व गरेको अनि समाजवादको संकल्प बोकेको यो सरकार कसको सल्लाह र बिज्ञतामा सामुदायीक बिद्यालयलाई हतोत्साहित बनाउने गरी यस्तो नीति निर्माण गर्न बाध्य हुन्छ वा चुक्छ ?
यो सरकारका नीति निर्मातालाई अनुरोध छ, बिज्ञताका नाममा धरातल बिर्सीएर जथाभावि गर्ने छुट तपाँइहरुलाई छैन। तीन करोड नेपालीको आशा तपाँईले नेतृत्व गरेको सरकारमाथि छ।
तपाँइले कम्युनिष्ट पार्टीको दुई तिहाइ नजिकको बहुमतको सरकार चलाउनु भए जस्तो लाग्छ। त्यसैले सामान्य धर्म र मर्मसमेत बिर्सीएर शैक्षिक व्यापारीहरुलाई प्रोत्साहन र उत्साह प्रदान गर्दै सामुदायीक बिद्यालयलाई हतोत्साहित गर्ने छुट तपाइलाई कस्ले दियो ?
यो बुँदा तत्काल सच्याइयोस् र अविभावकहरुको सहयोगमा सामुदायीक बिद्यालयको गुणस्तर बृद्धि गर्ने योजना बनाइयोस्। हेक्का रहोस, तपाँइको बिज्ञता पक्कै सामुदायीक बिद्यालयबाट प्राप्त भएको हो। तपाँइले श्रमजीवी जनताको भोटबाट निर्वाचित सरकार चलाई रहनुभएको छ।
तपाँइका पछि लाखौँ कार्यकर्ता बिना स्वार्थ समाज परिवर्तन र रुपान्तरणका लागि लागेका छन्। तपाँईको स्वार्थ पुरा गर्न, कुर्सी प्राप्त गर्न आसेपासेलाई रमाउन र गरिब निमुखाहरुको आशामा तुषारापात गर्न शहिदहरुले बलिदान गर्नुभएको हैन। त्यसैले तत्काल राष्ट्रहीत र जनहित बिपरितका नीतिहरुमा सुधार गरियोस्। नीति निर्माण गर्दा शहिदहरुलाई स्मरण गरियोस्। घोषणापत्र हेरियोस्। आफ्नो पृष्ठभूमि नर्बिसियोस्।
ति भोका नाङ्गा गरिबहरुको पीडा बोध गरियोस्, हाम्रो अन्तिम लक्ष्य समाजवाद हो भन्ने कुरा नबिर्सियोस्। अन्यथा तपाँइले कल्पना गरेभन्दा परिस्थिति फरक हुनसक्छ। एकपटक सबैले सोचौँ, समाज परिवर्तन र रुपान्तरणका लागि आ–आफ्नो ठाउँबाट सच्चिऔँ।
(लेखक जनता मावि इटहरीका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हुनुहुन्छ-सम्पादक)