इटहरी/  इटहरी उप-महानगरपालिकाका मेयर हेमकर्ण पौडेलले स्थानीय तहको न्यायिक समितिलाई सुदृढ र प्रभावकारी बनाउन स्थानीय तहको प्रहरीलाई हतियार आवश्यक भएको बताउनुभएको छ। इटहरीमा बिहीबार सुनसरीका स्थानीय तहका न्यायीक समितिका प्रमुखबीच भएको छलफलमा मेयर पौडेलले त्यसो भन्नुभएको हो।

इटहरीमा भएको छलफलमा प्रमुख अतिथि रहनुभएका मेयर पौडेलले न्यायिक समितिको निर्देशन पालना गर्ने हतियारसहितको प्रहरी आवश्यक भएको बताउनुभएको हो।

स्थानीय तहलाई कतिपय अवस्थामा दौडनुपर्छ भनेपनि खुट्टा बाँधेर दौडन लगाएजस्तो भएको पौडेलले बताउनुभया। ‘संविधान र ऐनका प्रावधानमा आधारित रहेर स्थानीय सरकारका अधिकार र जिम्मेवारीहरू अनुसार अघि बढ्न कानुन, नियम तथा विनियम बनाउने कुरामा अप्ठ्यारो छ,’ उहाँले भन्नुभयो। उहाँले अप्ठ्यारो फुकाउन तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक पर्ने बताउनुभयो।

‘समन्वय र सहकार्यका आधारमा ऐन–कानुनको कार्यान्वयन हेरेर तिनीहरुमा आवश्यक परिमार्जन पनि गर्नुपर्ने हुन्छ,’ उहाँले भन्नुभयो। अहिले हाम्रो न्यायिक समितिले निर्णय गरेको कुरा कार्यान्वयनमा झन्झटिलो अवस्था रहेको भन्दै मेयर पौडेलले न्यायिक समितिको निर्णय कार्यान्वयनमा नगरकै हतियार सहितको प्रहरी चाहिने बताउनुभयो।

संघीय नेपालका तीन तहमध्ये नागरिकको सबैभन्दा नजिक रही लोकतन्त्रको दरिलो जगका रूपमा र बिकासको माध्यमका रूपमा स्थानीय तह रहेको भएपनि बाहिरबाट देखिएजस्तो नभएको नगरप्रमुख पौडेलले जिकिर गर्नुभयो। उहाँले न्यायधीसहरुले त न्यायीक समितिलाईं सौताजस्तो व्यवहार गर्ने गरेको टिप्पणी गर्नुभयो।

आफ्नो निर्णय कार्यान्वयन गराउन प्रहरी गुहार्दा माथिल्लो आदेश पर्खनुपर्ने बताउने गरेको भन्दै मेयर पौडेलले पालिकाको प्रहरीलाई हतियार दिन सरकारसँग आग्रह गर्नुभयो।

कार्यक्रममा इटहरी उपमहानगरपालिका उपप्रमुख संगीता चौधरी, धरान उपप्रमुख आइन्द्रविक्रम बेघालगायतले बोल्नुभयो।