बिराटनगर/ नेपाली कांग्रेस मोरङको बैठक स्थगन भएको छ। बिश्वभर फैलिएको कोरोना संक्रमणको त्रासलाई मध्यनजर गर्दै बैठक स्थगन भएको हो।

चैत ५ गतेको लागि पार्टीको बैठक तय गरिएको भएपनि पार्टीका जिल्ला सचिव मोदराज घिमिरेले आइतबार पार्टीले बैठक स्थगनबारे निर्णय गरेको बताउनुभएको छ। घिमिरेले ‘‘कोरोना संक्रमणको सन्त्रासका कारण देशको परिस्थिति, केन्द्रीय समितिले दिएको निर्देशन र स्थानीय अवस्थालाई समेत मध्यनजर गर्दै बैठक स्थगन गर्ने निर्णय भएको हो ।’’ भन्नुभयो।

कांग्रेसले रोगबारे मानिसहरुमा फैलिएको त्रास र बजारमा देखिएको सामानको अनधिकृत मूल्यवृद्धि रोक्न सरकारलाई चासो दिन पनि आग्रह गरिएको सचिव घिमिरेले बताउनुभयो।

कांग्रेसले समेत आफ्ना भ्रातृसंगठनमार्फत कोरोनाबारे जनचेतनालगायत कार्यलाई भने निन्तरता दिने तयारी थालेको घिमिरेले जानकारी दिनुभयो। केन्द्रको निर्देशनअनुसार ठूलो संख्यामा भेला भएर गर्ने कार्यक्रमहरु भने हुने छैनन्।