स्याङ्जा / प्रहरीले आफ्नै आमाको हत्या गरेको आरोपमा नारायण तिवारीलाई पक्राउ गरेको छ। स्याङ्जाको चापाकोट नगरपालिका–७ वनकट्टाकी ७४ वर्षीया बालकुमारी तिवारीको हत्या गरेको आरोपमा छोरा ४७ वर्षीय नारायणलाई प्रहरीले पक्राउ गरेको हो।

उनले घाँटी च्यापेर मारेको भन्ने किटानी जाहेरीका आधारमा तिवारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक हेमराज घिमिरेले बताउनुभयो।

प्रवक्ता घिमिरेका अनुसार छोरा नारायण तिवारीले मङ्सिर १२ गते अन्दाजी ४ः३० बजे आमाले लगाएको कपडा तथा घरको पिँढीमा दिसापिसाब गरेको कारणले रिस थाम्न नसकी आवेशमा आई घाँटी अठ्याएर मारेको खुल्न आएको छ।

पक्राउ परेका नारायणलाई ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) शीर्षकमा मुद्दा दर्ता गरी स्याङ्जा जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान गरिरहेको प्रवक्ता घिमिरेले बताउनुभयो।