कपिलवस्तु / मायादेवी गाउँपालिका–१ मा तीन वर्ष अघि भएको सामुहिक बलात्कार घटनाका मुख्य अभियुक्त शनिबार पक्राउ परेका छन्। घटना पछि फरार रहेका मायादेवी गाउँपालिका– १ का २१ वर्षीय कलामुद्दिन मुसलमान शनिबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ।

घटना पछि फरार भएका कलामुद्दिन मुसलमान सुटुक्क घर आएको बेलामा विशेष सुराकीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। आइतबार उनलाई जिल्ला अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल मल्लले बताउनुभयो।

२०७३ साल माघ १६ गते पाँच जनाको समूहले मायादेवी गाउँपािलका –१ पकडीको सिसौ बारीमा स्थानीय एक युवतीमाथि सामुहिक बलात्कार गरेको थियो।

घटनामा संलग्न रहेको आरोपमा मायादेवी गाउंपालिका– १ का २६ वर्षीय राहत हुसेन र २० वर्षीय बब्लु भन्ने अब्दुल रसिद मुसलमान यस अघि नै पक्राउ परेका थिए। बाँकी तीन जना फरार रहेकोमा शनिबार मुख्य अभियुक्त पक्राउ परेको डीएसपी मल्लले बताउनुभयो।

सामुहिक बलात्कारको भिडियोसमेत बनाएर उनीहरुले सामाजिक सञ्जालमा राखेका थिए।