नेपालमा तीनै तहको सरकार सञ्चालनमा रहेका छन्। बर्तमान सरकारको अर्थमन्त्री हालसम्मकै अर्थसम्बन्धि ज्ञाता अर्थमन्त्रीका रुपमा देशभर चर्चा छ। मुलुकका प्रधानमन्त्रीले देशलाई समृद्ध बनाउने उद्घोषका साथ अगाडि बढिरहनुभएको छ। भ्रष्टाचार शुन्य बनाउने उहाँको उद्घोष छ। मुलुकका साना साना ब्यापार व्यवसायी रोजगारीलाई प्रोत्साहन दिने उत्थान गर्ने निति रहेको बताईन्छ।

यस्तैमा धरानका साधारण भन्दा साधारण मानिसहरुले सरसापट चलाउन गाह्रो भयो। सानो सानो सुन राखेर २ हजार २५सय सरसापट लिने दिने आपसी समझदारीमा सुन व्यापारिहरुसँग गर्न सकिन्थ्यो। बैंकले यो ढंगको सुविधा सर्वसाधारणलाई दिने गरेका छैनन। यसकारण हामी जस्ता साधारणका निमित्त सरकारले राम्रो काम पो गरेको छैन कि भन्ने गुनासो गर्न थालेका छन्। यही बिषयमा स्पष्ट हुनका लागि सुनचांँदी व्यवसायीहरुको तर्फबाट बताईदिन सुनचाँदी कला व्यवसायी संघ क्षेत्र न.१ का प्रदेश संयोजक एवं जिल्लाका अध्यक्ष तथा संघको केन्द्रिय सदस्य प्रेम लकान्द्रीसँग धरान सम्वाददाता लक्ष्मी दर्नालले कुराकानी गर्नुभएको छ।

परिचय
धरान–१८ मा स्थायी रुपमै बसोबास गर्दै आएका प्रेम लकान्द्री सुनचाँदी कला व्यवसायी संघ क्षेत्र नम्बर १ का प्रदेश संयोजक एवं जिल्लाका अध्यक्ष तथा संघको केन्द्रिय सदस्य हुनुहुन्छ। लकान्द्री बिगतका बर्षदेखि नै सुनचाँदी व्यवसायमा आवद्ध रहँदै आउनुभएको छ। उहाँको जन्म मोरङमा भएको हो । घरका माईला छोरा लकान्द्री बिश्वकर्मा कल्याण सेवा समितिका पुर्व महासचिव, निसाहय सहयोग परिषदको कार्यसमतिका पुर्व सदस्य, दलित उत्थान समन्वय समितिका पुर्व अध्यक्षको पद्धभार समेत सम्हालिसक्नुभएको छ।

लकान्द्रीसँग पूर्वी खबरकर्मी लक्ष्मी दर्नालले गरेको कुराकानी :–

१.सुनचाँदी व्यवसायको अवस्था कस्तो छ ?
यो व्यवसायका बारेमा अहिलेसम्म राज्यले गम्भिर भएर निति नियम बनाएको छैन्, राज्यको तर्फबाट निति नियम नबनेका कारणले सुनचाँदीको कारोबार गर्न र गराउन धेरै नै कठिन छ। स्पष्ट निति नियम स्पष्ट रुपमा नहँदा बहुमुल्य धातुको कारोबारमा अहिले मात्र हैन बिगतका बर्षदेखि नै समस्या हुने गरेको छ। कारोबार गर्न पहिला त ठोस निति हुनुपर्ने भएकोले यो क्षेत्रमा उपभोक्ता, व्यवसायी सबै नै मारमा पर्दे आएका छन्।

२.नेपालमा सुनचाँदीको कारोबार कसरी भईरहेको छ ?

कारोबार मनमानी ढंगले भएको देखिन्छ। किनकि कुनै ठोस निति नहँुदा जोकोही व्यवसायीहरुले पनि आफ्नै ढंगले कारोबार गरिरहेका छन्। अधिराज्यमै ठोस निति नियम नभएकोले पनि यस्तो भएको हो। अन्तराष्ट्रिय बजारमा घण्टा घण्टामा सुनचाँदीको मुल्य निर्धारण हुने गरेको छ भने हाम्रो नेपालमा त्यस्तो छैन्। नेपालको पहाडी क्षेत्रमा यातायातको समस्या हुने गरेकोले पनि शहरी क्षेत्र र पहाडी क्षेत्रको मुल्यमा केही रकमको फरक हुने गरेको छ। सुनचादीको मुल्य शहरी क्षेत्रको भन्दा ५ सय रुपैंया बढी पहाडी क्षेत्रका व्यवसायीहरुले लिने गरेका छन्। किनकि सो क्षेत्रहरुमा यातायातको समस्या हुने गरेकाले पनि मुल्यमा समानता हुदैन्।

३.निति नियमका लागि केही पहल गरिएन त ?
पहल नगरेको हैन्। हामी सुनचादी व्यवसायी सबै मिलेर आन्दोलनका कार्यक्रम, सरकारको ध्यानाकर्षणका लागि बिभिन्न कार्यक्रम पनि सञ्चालन गरेका थियौं। बि.स.२०५६/०५७ सालदेखि नै हामीले सरकारसँग माग उठाएका थियौं। बि.स. ०६७/०६८ सालमा भने राज्यले अनुगमन गर्न शुरु गरेको थियो। अनुगमन मात्र गरेर पनि त भएन्। राज्यले यस क्षेत्रको व्यवस्थापन, कसरी यो क्षेत्रको बिकास गर्ने, यस क्षेत्रमा आश्रित नेपालका मात्रै छन कि बिदेशीहरु पनि छन यस बिषयमा राज्यले खासै चासो भने देखाएनन्।

४.राज्यले चासो देखाउन नसकेको कारण के चै के हो ?
बिशेषत सरकार परिवर्तन भईरहने मुख्य कारण हो। ०६७/०६८ सालमा अनुगमन गर्ने काम मात्र भयो। तर त्यसलाई निति नियममा कसरी लाने भन्ने बिषयमा सरकारको ध्यान गएन्। हामीले दिपक बोहरा बाणिज्य मन्त्रि हुदा महासंघबाट मस्यौदा तयार गरि ज्ञापनपत्र पनि बुझायौ। सुनिल बहादुर थापा र शिवकुमार मण्डल मन्त्रि हुँदा पनि हामीले बारम्बार भेटघाट र छलफल गरेँउ। तर मन्त्रि फेरिरहने प्रवृतिका कारणले पनि हाम्रो समस्या जहाँको त्यही छ।

५.सुन व्यापारि अपहरणमा परे, मारिए भन्ने जस्ता समाचार सुन्न पाईन्छ । तपाईहरुको क्षेत्रमा सुरक्षा व्यवस्था कस्तो छ जस्तो लाग्छ ?
यो व्यवसायमा सुरक्षाको समस्या अति जोखिमपुर्ण छ। हामी सुनचाँदी व्यापार व्यवसाय गर्नेहरुको आगाडि प्रशस्त मात्रामा रुपैँया, पैसा चलायमान भएको देखिन्छ। सुन आफैमा नगदी हो। हामीले गरेको कारोबार सबै अरु उद्योग कलकारखानामा बिभिन्न व्यक्ति तथा बैंकहरुसँग ऋण लिएर चलाएजस्तै हामीले पनि ऋण आदिबाट नै पेशा सञ्चालन गरेका हुन्छौं। बिभिन्न व्यक्तिका आँखामा हामीलाई अति सम्पन्नका रुपमा देख्ने गरिन्छ। यसकारण अपराधी मनोबृत्तिका मानिसहरुले हामीलाई खेद्ने, अपहरण गर्ने जस्ता गर्दै आएका छन्। हालै केही महिनाभित्र मात्र तपाईले सोधे जस्तै दुई तिन जना साथीहरुको ज्यान नै गएको छ। राज्यबाट हाम्रो पेशा व्यवसाय गर्नेहरुलाई सुरक्षित रहेको अनुभुति दिन सकिरहेको छैन्। सुरक्षा व्यवस्था राम्रो छैन्।

६.नेपालमा दैनिकजसो सुनको आवश्यकता कति छ ? र कतिको संख्यामा सुनचाँदी आपुर्ति हुने गरेको छ ?
नेपाल अधिराज्यभर सुनचाँदीको सीजनमा ५०केजी आपुर्ती हुने गरेको छ भने त्यो सिजनमा एकै दिनमा २५करोड रुपैँयाको कारोबार हुने गरेको छ। अफसिजनमा भने दैनिकजसो नेपाल अधिराज्य भरि नै २० देखि २५ केजीसम्म सुनचाँदीको कारोबार हुने गरेको छ।

७.धरानमा चै कतिको दैनिकजसो कतिको संख्यामा सुनचादी खपत हुने गरेको छ ?
धरानमा मात्रै १ देखि २ केजीसम्म सुनचाँदी खपत हुने गरेको छ। धरानमा २ सय ५० को हाराहारीमा सुनचाँदी व्यवसायीहरु भएकोले त्यति मात्रामा खपत हुने सुनचाँदी माग अनुसारको प्रयाप्त छैन्।

८. नेपाली भन्दा बिदेशी कालिगढ बढी रहेछन, नेपाली कालिगढको संख्या बढाउन नसक्नुको मुख्य कारण चै के हो ?
बिशेष त राज्यले यहाँका कालिगढको संख्या बढाउने तिर खासै चासो देखाउदैन्। हाम्रा नेपाली कालिगढलाई पनि बिभिन्न तालिमको व्यवस्था गर्न सकेको छैन्। यदि तालिमको व्यवस्थासँगै यहाकै मजदुरीहरुलाई सुनचाँदीको व्यवसायमा समेट्न सके यहाँबाट धेरै नै कालिगढहरु उत्पादन हुन सक्छन्। ती कालिगढहरुलाई राज्यले लाईसेन्स दिने र उनीहरुलाई जिम्मेवार बनाउने काम गरेको भए बिदेशीले मासिक डेढ लाखदेखि २ लाखसम्मको पारिश्रमिक लान पाउदैन थिए। नेपाली मजदुरहरुले नै त्यो पारिश्रमिक पाउथे। राज्यलाई पनि उनीहरुको पारिश्रमिकबाट केही न केही राजस्व प्राप्त हुन्थ्यो।

९.वर्तमान सरकारले सुनचाँदी धितो राखि सुनचाँदी व्यापारीले पैसा दिने काम नगर्नु त्यो काम बैंकको हो भन्ने निति अगाडि बढाईरहेको सुनिन्छ। खास कुरा के हो ?
हाम्रो बाउ बाजे कै समयदेखि सुनचाँदी, गरगहना उपभोक्तालाई बनाईदिने र उपभोक्ताहरुले पनि जहाँबाट सुनचादी बनाईएको छ, त्यही ठाउबाट त्यही गहना धितो राखेर सरसापटी लिने दिने हुदै आएको थियो। त्यो क्रम आजसम्ममा पनि चल्दै आईरहेको थियो। बर्तमान सरकारले यसो गर्नुहुन्न भन्ने निति अपर्झट हामीबीच आयो। हाम्रो उपभोक्ताहरु दैनिक केही न केही सरसापट लिन हामीले बनाईदिएको गरगहना लिएर आउछन्। हामीले उहाँहरुलाई बैंकमा जानुहोस भन्छौं, यस्ता कामहरु कहिले बिहानको समयमा पर्न जान्छ, कहिले बेलुकाको समयमा पर्न जान्छ, कहिलेकाही शनिवार पनि पर्दछ। यो समयमा बैंकबाट कारोबार हुन सक्दैन। त्यति मात्र हैन ५ हजार, २, हजार, ३ हजार जस्ता साना रकम बैंकले सुन राखेर दिने गर्दैन्। यस्तो भएपछाडि उपभोक्ताहरुले हामीलाई तिम्रो गहना तिमि नै लेउ आदि जस्ता तरिकाबाट हैरान दिन्छन्। यो क्षेत्रमा अहिलेसम्म गर्न हुने अनि गर्न नहुने जस्ता ऐन कानुनहरु बनिएर आएनन्। हामी हाम्रो परम्परा अनुसार चल्दै आएका छौं। माथि नै भनि सकियो कि यो क्षेत्रले प्रतिदिन ५० करोड बराबर कारोबार गर्दछ। बर्षमा दुई तिन अरब राजस्व बुझाउछ। यस्तो क्षेत्रलाई सर्वप्रथम हिजोको निति बदलेर उन्नत निति लाउन खोज्दा सुचना हामीलाई प्रयाप्त मिलेको भए राम्रो हुन्थ्यो। उपभोक्तालाई हामीले पनि सुचना गर्दै जाने थियौं। अपरझट यस्तो निति आउदा यो क्षेत्र, यो समयमा समस्या समस्याले नै आक्रान्त बनाईरहेको छ। अव चाँडो भन्दा चाँडो यो क्षेत्रका बारे प्रदेश सरकारले निति बनाएर हामीलाई निर्देशन गर्नु जरुरी छ।

माथि नै भनिसके कि हामी सुरक्षित छैनौं। हामीले सुनको माग गर्दै धरानको कुनै पनि बैंकमा पैसा डिपोजिट गरिसके पछाडि त्यो बराबरको सुन त्यही बैंकमार्फत धरानमा नै पाउने व्यवस्था सरकारले गर्नु जरुरी छ। पैसा यहाँ हाल्ने अनि सुन लिन काठमाडौं जानुपर्ने यो नितिका कारणले पनि हामी असुरक्षित हुन पुगेका हौं। सुनको बितरणमा पनि सिण्डिकेट प्रणाली छ। त्यो तोडिन जरुरी छ। यसैले स्थानीय सरकारले आफ्नो क्षेत्रको ब्यापार व्यवसायहरुको निति नियम बनाएर काम गर्न सजिलो बनाओस हाम्रो माग छ।