स्थानीय तहको निर्वाचनपछि धरानका सबै वडामा बिकासका कार्यक्रमहरु तीव्र गतिमा भईरहेको छ। वडा अध्यक्ष र सहस्यहरुसँगै स्थानीयबासीहरुको सकृयतामा बिकासका कामहरु भईरहेका हुन।

जननिर्वाचित पदाधिकारी पाएपछि स्थानीयले केही परिवर्तनको अपेक्षा मात्र नभई परिवर्तन भएको महसुस समेत गरेका छन्। यसै सन्दर्भमा रहेर धरानको वडा नम्बर ९का वडाअध्यक्ष रत्नबहादुर कटवालसँग धरान सम्बाददाता लक्ष्मी दर्नालले गरेको कुराकानीको सम्पादित अंश :

# वडाअध्यक्ष निर्वाचित भएपछि त निकै व्यस्तता बढेको होला ? केमा व्यस्त हुनुहुन्छ ?
अहिले वडाकै बिकासका निम्ति बिभिन्न शिर्षकमा रहेर विकासका कामहरु गरिरहेका छौं। नगरमा के के हुँदैछ भनेर जान्ने र नगरको स्तर उन्नतीकै काममा अलि बढी व्यस्त छु। खासगरेर अहिले नगरको पहिलो बैठकमा पनि उतिकै व्यस्त छु।

# वडा नं. ९को वडाध्यक्षमा निर्वाचित भएपछि खुसी बढी छ कि चुनौती ?
स्वाभाविकरुपमा बिजय भएपछि खुसी भइन्छ नै तर जितसँगै जिम्मेवारीबोध पनि भएको छ। केही चुनौतीको महसुस गरेको छु। १९ बर्षपछि नयाँ परिवेशमा भएको चुनाबमा बिजय गौरव लागिरहेको छ तर धेरै कामहरु गर्नुपर्ने भएकाले चुनौती र जिम्मेवारीबोध पनि उत्तिकै छ।

# स्थानीय तहका लागि जेजति अधिकार प्रस्तावित भएको छ त्यो पर्याप्त छ जस्तो लाग्छ ?
जेजति पनि अधिकारहरु दिइएको छ त्यो एउटा वडाको बिकासका लागि काफी नै छ। मलाई एउटा वडाका लागि त्यहाँभन्दा बढी अधिकार चाहिन्छ जस्तो लाग्दैन। यो कत्तिसम्म वडालाई कार्यान्वयन गर्न दिने भन्ने नै मुख्य कुरा हो। यो नगरपालिकामा मात्र होइन देशभरीकै कुरा हो। कति ठाउँमा यो सान्दर्भिक छ वा छैन भन्ने कुरा पनि हो। जहाँसम्म हाम्रो नगरपालिकाका सन्दर्भमा जुन अधिकारहरु प्रत्याभूत गरिएको छ। हाम्रो नगरका लागि काफी नै छ।

# तपाईं वडा नम्बर ९ को सामाजिक काममा कहिलेदेखि लाग्नुभयो ?
वडा नम्बर २ को मेरो सामाजिक जीवन साउन २ गतेदेखि शुरु भयो। त्यहाँदेखि हालसम्म यस वडाको बिकासका निम्ति लागि परिरहेको छु।

# यस वडाका लागि कति बजेट छुट्याईयो र बजेट कुन कुन शिर्षकमा खर्च भईरहेको छ त ?
यस वडाका लागि भनेर धरान उपमहानगरपालिकाबाट २८ लाख ७५ हजार बजेट निकासा भएको थियो। त्यसमा हामीले वडा कर्मचारी र कार्यालयका लागि ७ लाख छुट्याईएको थियो भने लक्षित वर्गका लागि ८ लाख छुट्याईयो। बाँकी रहेको १३ लाख ५ हजार रुपैँया वडाको बिकासका लागि लगानी भईरहेको छ। जसमा कुल बजेटको ४० प्रतिशत लक्षित वर्ग र ६० प्रतिशत वडाको बिकासका निम्ति छुट्याईएको हो। जस्तै : ४० प्रतिशतमा छुट्याईएको लक्षित बर्ग कोषमा १० प्रतिशत, बालबालिकामा १५ प्रतिशत र अन्यमा १५ प्रतिशतमा रहेर काम गरियो। र वडाको बिकासका लागि नयाँ पक्कि सडक निर्माण, पुरानै सडकको निर्माण, बिजुली पोल जडान, खानेपानी, खहरे खोला नियन्त्रणलगायतका शिर्षकमा काम भईरहेको छ।

# लक्षित वर्ग, अन्य लक्षित र महिला तथा बालबालिका शिर्षकमा अहिलेसम्म के–के कामहरु भए त ?
लक्षित बर्गमा हामीले महिलालाई उद्घोषण तालिम, महिला ट्रेलरिङ तालिम, स्वास्थ्य शिविर लगायतका कार्यहरु गरेका थियौँ भने अन्य लक्षितमा खेलकुद, सरसफाई, आँखा शिविर, ड्राईभिङ ट्रेनिङलगायतका शिर्षकमा काम सम्पन्न भयो। अव बालबालिका शिर्षकमा हामीले शैक्षिक सामार्गी बितरण, चित्रकला प्रतियोगिता, गरीब तथा जेहेन्दार बिद्यार्थीलाई स्कुल भर्ना निशुल्कलगायतका कामहरु सम्पन्न भईसकेको छ। हामीले यो शिर्षकमा छुट्याइएको ७ लाख वजेटमा हालसम्म ४ लाख ५ हजार खर्च गरिसकेका छौँ।

# वडाको बिकासका लागि मात्र हालसम्म के के काम गरियो ? र बजेट कति निकासा भएको थियो त ?
वडाको बिकासका लागि हामीले सडक निर्माण, पोल सार्ने, कच्ची सडक पुननिर्माण गर्नेलगायतका काम गरिरहेका छौँ। हामीले खहरे खोला नियन्त्रणको काम भने पुर्णरुपमा सम्पन्न गरिसकेका छौँ। यसका लागि नगर योजना, मेयर कोष, सडक बिभाग बोर्ड र जनताबाट उठाईएको ९६ लाख १५ हजार रुपैँयाको वजेटबाट वडाको बिकासका बिभिन्न शिर्षकमा रहेर काम भईरहेको छ। जसमा वडा न.९ कै बगैंचा चौकको चारैतिर ७ सय २० मिटरको बाटो बनिरहेको छ। bato त्यसमा ८० प्रतिशत उप–महानगरपालिका र २०प्रतिशत जनताको आर्थिक सहयोगमा सडक बनिरहेको छ। सो सडकहरु पुर्ननिर्माण गर्ने काम भईरहेको छ। यस्तै दिव्यकोलेरी मार्ग गौतमपथमा पनि नयाँ सडक निर्माण भईरहेको छ। त्यहाँका लागि नगरबाट ६० र जनताबाट ४० प्रतिशत आर्थिक सहयोगमा सडक बनिरहेको छ। त्यहाँ ५ सय ३० फिट लम्बाईको सटक निर्माण कार्य भईरहेको छ। यस्तै धरान २ को सब्जीमण्डिदेखि धरान ९ सम्म पर्ने सब्जीमण्डीसम्ममा १ सय ५ मिटरको आरसिसि ढलाई भईरहेको छ। त्यहाँका लागि पनि नगरबाट ६० र जनताबाट ४० प्रतिशत आर्थिक सहयोगमा सडक बनिरहेको छ।

# वडावासीले तपाईंलाई कस्तो कस्तो कामका लागि भेट्न सक्नेछन् ?
अहिलेसम्म जति समस्या छन् सबै मसँग ठोक्किन आउने गरेका छन्। नियमित देखिने समस्यादेखि अन्य समस्यासम्म जेजति छन् त्यसका लागि मैले योजना बनाउनेछु। त्यसैले सानो, ठूलो जुनसुकै समस्या समाधानका लागि म प्रयासरत रहनेछु। सबै वडावासीले मलाई सहजरुपमा नै भेट्न सक्नुहुनेछ।

# वडाको बिकासका लागि आगामि योजना के के छन ?
खहरे खोलाको पिडालाई पुर्न रुपमा नियन्त्रण गराउने, मेरो कार्यकालमा यस वडामा कुनै पनि कच्ची सडक निर्मुल हुने गरी पक्की सडक बनाउने, यस वडाका बिभिन्न ठाउँमा मठ मन्दिर निर्माण गर्नेलगायतका भावी योजनाहरु छन्। जसलाई साकार पार्न मेरो मात्रको प्रयासले केही पनि हुदैन्। यसका लागि वडावासी, शुभचिन्तक र उप–महानगरपालिकाको पनि पुर्ण सहयोगको खाँचो छ।