गत माघ दोश्रो साता सफलतापूर्वक एक सातासम्म मञ्चन गरिएको नाटक ईङघङ धरानमा पुनः मञ्चन हुने भएको छ। दर्शक एवं नाटकप्रेमीहरुबाट आग्रह भएपछि नाटक घर बनाउने उद्देश्य लिएर पुनः धरान–८ स्थित सभागृहमा मञ्चनको तयारी गरिएको रंगभुमी एकेडेमीले जनाएको छ। सबै कलाकर्मी र धरानको चाहना र रहर, धरानमा अनिवार्य नाटक घर भन्ने नाराका साथ फागुन २७ गतेदेखि चैत ११ गतेसम्म ईङघङ पुनः मञ्चन गर्दैछ। सो नाटक धरान–८ स्थित सभागृहमा हुने भएको हो। रंगभुमीका अध्यक्ष एवं नाटकका निर्देशक बिष्णु मोक्तान संखुवासभामा जन्मेका हुन्। बुवा पदमबहादुर मोक्तान र आमा पदम कुमार मोक्तानको कोखबाट जन्मेका घरका एक्ला छोरा हुन्। उनी २०७६ सालदेखि धरानमा स्थायी रुपमै बसोबास गरिरहेका छन्। निर्देशक बिष्णु मोक्तानसँग धरान सहकर्मी लक्ष्मी दर्नालले नाटक ‘ईङघङ’ कै बारेमा गरेको कुराकानीको अंश :–

१) नाटक गर्नुको उदेश्य के हो ?

एकेडेमीका अनुसार ‘हामी सबै कलाकर्मी र धरानको चाहना र रहर, धरानमा अनिवार्य नाटक घर’ भन्ने ईङघङ पुनः मञ्चन हुदैछ। नाटक घर (थिएटर) अभावमा रंगकर्मीहरुले धेरै समस्या भोग्नु परिरहेकोले नाटक घर निर्माणको लक्ष्य बनाएका हौं। यसअघि मञ्चन हुँदा ईङघङले अपार माया र साथ पायो, दर्शकहरुकै अनुरोधमा फेरी मञ्चन गर्दैछौं। हामीले यो नाटक गर्नुको उदेश्य भनेको यो नाटक सामाजिक चेतनामुलकमा आधारित छ। त्यसैले पनि नाटकको माध्यमबाट हामीले समाज परिवर्तन गर्न खोजिरहेका छौं। नाटकमा उठाईएका बिषयबस्तुले समाजमा घटिरहेका हरेक बिकृति, बिसंगीलाई रोक्नुमा मदत गर्दछ।

२) नाटकले उठाएका बिषयवस्तुहरु के के छन त ?

रंगभुमीको दोश्रो नाट्य प्रस्तुती रहेको ईङघङ गत माघ ९ गतेदेखि माघ १५ गतेसम्म सभागृहमा नै मञ्चन भएको थियो। पूर्वी लिम्बूवान गाउँको सँस्कार, सँस्कृति र प्रेमलाई जीवन्तरुपमा प्रस्तुत गरेको ईङघङलाई दर्शकहरुले असाध्यै मनपराएका थिए। जातीय छुवाछुत, अन्धबिश्वास र रुढीबादी समाजबिरुद्ध पनि नाटक इङघङले आवाज उठाएको छ। कलाकारहरुको अभिनय पनि जीवन्त छ।

३) फेरि पनि यो नाटक मञ्चन किन नि ?

नाटक सकेपछि पनि दर्शकहरु पटक पटक नाटक हेर्न सभागृह पुगेका थिए। त्यसबेला एकदिनमा ३ पटकसम्म मञ्चन भएर इङघङले रेकर्ड बनाएको थियो। चालिसको दशक धरानको रंगमञ्चको स्वर्णिम समय मानिएपनि दिनमा ३पटक मञ्चन भएको इतिहास थिएन। कतिपयले नाटक हेर्न नपाएको गुनासो गरेकाले पनि पुनः मञ्चन गर्ने निर्णय गरिएको रंगभुमीले बताएको छ। धेरैजनाले नाटक हेर्न छुटाएको प्रतिक्रिया दिनुभयो। त्यसपछि फेरी मञ्चन गर्नुपर्छ भन्ने निर्णयमा पुगेको हो। त्यसैले पुनः यो नाटक मञ्चन गर्न लागेका हौं।

४) नाटकमा कलाकारहरु को को छन त ?

नाटकमा आफुसँगै दिपेन्द्रसिहं दर्नाल, कुमारी राई, तुलसा थापा, हरि इवाहाङ लिम्बू, पे्रसिका निरौला, सोनम मगर, निश्चल कुलुङ, मिलन राई, गेबी लिम्बू, शंकर थापा र उदिप लिम्बूको अभिनय छ। यस्तै, निर्माण संयोजनमा स्पन्दन राजा, संगीत बिनायक राई, केलाङ नृत्यमा कुमार हुक्पा चोक्पा चोङबाङ र नेत्र छन्त्यालको बिशेष सहयोगीको रुपमा रहेका छन्।

५) ईङघङ धरान वाहेक अन्य ठांउमा पनि प्रस्तुत गर्न सकिदैन र ?

पक्कै पनि सकिन्छ। हामीले हाललाई चै यो नाटक हामीले धरानमा मात्र सिमित राखेका छौं। अब धरानबाहेक काठमाडौं लगायतका अन्य ठाउमा पनि प्रस्तुत गर्ने हाम्रो योजना छ। किनकि यो नाटक धरानमा मात्र नभई अन्य ठाउबाट पनि राम्रै प्रतिकृया आईरहेको छ।

६) यस्तो नाटकहरुबाट जीवन धान्न सकिन्छ त ?

यो क्षेत्रमा जीवन धान्न गाह्रै छ। किनकि नाटक भनेको सदावहार गर्न सकिदैन्। यसका लागि सहि समय, आर्थिक रकम, कलाकारलगायतको आवश्यक पर्दछ। यो क्षेत्रलाई व्यवसायीक गर्न भने धेरै नै गाह्रो छ। मैले चाहिँ स्कुल पढ्दा देखि नै नाटकहरु गर्ने, सिकाउने र लेख्ने गरेकोले पनि यो क्षेत्रलाई चटक्कै माया मार्न सकिदैन्। त्यसैले यो क्षेत्रमा जीवन धान्नु भन्दा पनि आफ्नो ईच्छा पुरा गर्न सकिने भन्नुपर्ला।

६) अन्त्यमा के भन्नुहुन्छ ?
हामीले धेरै मेहेनत गरेको यो नाटक प्रस्तुत गरेका छौं। अहिलेसम्म त सबै ठाउँबाट साथीभाई, शुभचिन्तकहरुले राम्रै प्रतिकृया दिईरहनुभएको छ। त्यसैले पनि हामीले यो नाटक दोश्रो चरणको पनि दोश्रो पटक प्रस्तुत गर्न लागिरहेका छौं। नाटक हलसम्म आएर हेरिदिनुहोला। नाटक १ घण्टा ४५ मिनेटको छ। त्यो समयसम्म हजुरहरुलाई अल्छि भने कदापी लाग्ने छैन्।