बुधबार १८ असोज २०७४ धरान धिरेन लिम्बु-
स्थानीय निकायको दोश्रो चरणको निर्बाचनमा धरान १८बाट वार्ड अध्यक्षमा निर्बाचित जन प्रतिनिधी प्रबिण राई धराने जनताको ठुलो आशाको केन्द्र बन्नुभएको छ। उहाँ केन्द्रबिन्दुमा आउनुको मुख्य कारण धरान १८मा अबस्थीत बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान नै हो। कथित आन्दोलनहरुको कारण बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान दिनदिनै धरासयी बनिरहेको उहाँ बताउनुहुन्छ। गतसाता आन्दोलनकारीहरुले बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगाएको ताला पनि उहाँले नै तोड्नुभएको थियो।

आखिर किन ताला तोडियो त ? यस बिषयमा पूर्वी खबरकर्मी धीरेन लिम्बूले राईसँग गरेको कुराकानीको अंश :-

-अध्यक्ष ज्यू नमस्कार
नमस्कार, नमस्कार ।

-हिजो आज के मा ब्यस्त हुनुहुन्छ ?
अहिले त त्यै चाडबाढ तिरै ब्यस्त हो।

-तपाइको वडामा के कस्ता कार्यहरु हुँदैछ ?
म निर्वाचित भएपछि वडाबासीहरुलाइ आवश्यक प्रसाशनिक कार्यहरुलाइ छिटो छरितो बनाइ सहयोग गरेको छु। जनताले दुख पाउनु हुदैन यो मेरो मान्यता हो। म जनताकै लागि यहाँ छु।

-वडाध्यक्ष भएपछि के तेस्तो सम्झन लायक कामहरु गर्नुभयो ?
(हा…..हा…… हा……..हाँस्दै) ३ महिनामै सम्झन लायक कार्यहरु त के नै पो होला र ? तर पनि मैले १/२ वटा कार्यहरु चै गरेको छु त्यो सम्झन लायक छ वा छैन वडा बासीहरुलाइ सोध्नुपर्छ । मैले मेरो आफ्नै लगानीमा धरान १८ को बुद्ध चोकमा २ वटा, टेम्पु स्टेण्ड घोपा अगाडी १ वटा र सुन्दर बजारमा १ गरि जम्मा ४ वटा सिसि क्यामरा १ लाख ६८ हजार रुपैयाको जडान गरेको छु। घोपा क्याम अगाडिका ३ वटा मेडिकलहरुले ̋फमूर्ला” नामको लागूऔषध बेच्ने गरेको भेटियो। उनीहरुलाइ राजनितिक दल, औषधी ब्यबसायी संघ, नागरिक समाजको संयुक्त बैठकबाट आइन्दा यस्तो कार्य नगर्न चेतावनी दिएका छौँ।

-तपाइले त वडाध्यक्षले पाउने तलब, भत्ता नलिने घोषणा गर्नुभएको थियो होइन र ?
हो, वडा बासीले मलाइ अमुल्य भोट दिनुभयो। उहााँहरुले मलाइ किश्वास गर्नु भएको छ । अब यो सुन्दर अवसरमा म सरकारले दिने तलब, भत्ता मेरो वडा बासीहरुको लागिनै खर्च गर्न चाहन्छु। यसको लागि एउटा कोष स्थापना गरेको छु र आएको रकम त्यही जम्मा गरेर वडाका न्युन वर्गका ब्यक्तिहरुको उत्थान तथा सिप र क्षमता बिकासमा लगानी गर्नेछु। अहिले त तलब पाएको छैन तर नगर सभाबाट आएको ५ हजार चार सय जम्मा गरिसकेको छु।

-बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान तपाँइ निर्वाचित वडामा पर्छ त्यहाँ भईरहने आन्दोलनलाई कसरी लिनुभएको छ ?
तपाँइले भर्खरै बीपीमा भएको आन्दोलनको कुरालाई जोड्नु खोज्नु भएको जस्तो लाग्यो । म वार्ड अध्यक्ष भएपछि भर्खरै बीपीमा भएको आन्दोलन पहिलो हो। यो बिषयलाई मैले गम्भिर रुपमा लिएको छु। त्यो आन्दोलनलाई सहज रुपमा समाधान गर्न मैले पटक पटक भिसि, रजिष्टार, हस्पिटल डाइरेक्टर तथा आन्दोलनकारीसँग बैठक बसेको छु। मैले सबैसँग एउटै आग्रह गरे कि कुनैपनि हालतमा हस्पिटल बन्द गरिनुहुदैन।

-बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आन्दोलनको मुख्य जड् के होला ?
मैले सबैलाइ सत्य तथ्य भन्नै पर्छ, मेरो बुझाइमा यो आन्दोलनको मुख्य जड् नै भागबण्डा नमिल्नु र २/४ जनाको स्वार्थमा अल्झेको छ। कसैले नाङ्लो बजाएर हात्ती तर्साउने दुस्प्रयास गरेको बुिझन्छ। पहिला पहिला पत्रिकामा पढ्थे तर अहिले चै प्रत्यक्ष देखेँ।

-बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आन्दोलनको क्रममा लागेको ताला तपाइ आँफैले फोड्नु भो रे हो ?
हो, त्यो ताला मैलेनै तोडेको हो। मैले अघि पनि भने नि प्रतिष्ठानमा ताला लाग्ने कुरामा मेरो कुनैपनि हालतमा सहमति रहदैन। म प्रबिण राई मात्र होइन म १८ नम्बर वडाबासीको सिपाही पनि हो। यसको साथै म सचेत धराने युवा पनि हो। म दावाका साथ के भन्छु भने प्रतिष्ठानमा ताला लाग्ने कुरामा प्रत्येक सचेत धरानेको सधै बिरोध नै रहन्छ र आम सचेत धरानेहरुलाई म के भन्न चाहान्छु भने म सधै राम्रो बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सुभेच्छुक हो र यहाँ हुने प्रत्येक नकारात्मक गतिबिधीलाई जरै देखि उखेलेर फ्याक्नका लागि सदैब सबैको सहयोगको अपेक्षा पनि गर्दछु।

-तपाँइका भावि योजनाहरु के के छन ?
मेरो बिचारमा बाटो, ढल, पार्क तथा अन्य भौतिक बिकास मात्र बिकास होइन, समाज बिकासको लागि भौतिक बिकास सँगै मानब श्रोत र साधनको बिकास समेत हुन जरुरी छ। यसका लागि मैले बजेटको माग गरेको छु । चाडबाढपछि तुरुन्तै २-४ वटा कार्यक्रम हुन्छ । यो सँगै ̋ ग्रिन धरान १८ ̋ को कन्सेप्टमा पनि हामी छिट्टै नै कार्यक्रम गर्दैछौ। बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको गेट छेउमा ट्राफिक बिटको समेत स्थापना गर्दैछौ। जहाँ बिहान ८ बजे देखि साँझ ६ बजे सम्म ट्राफिक प्रहरी र बेलुका ८देखि बिहान ६ बजे सम्म वडाले आफै चौकिदार राख्दैछौँ। शिब मार्गमा भएका पार्कमा अलि अराजक गतिबिधी भएको भन्ने गुनासो आएको हुदाँ त्यहाँको अराजक गतिबिधी नियन्त्रणमा चाँडै नै कार्य थालनी गर्दैछौ।