काठमाण्डौ/ अर्थमन्त्री बिष्णु पौडेलले देश निर्माणको लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताउनुभएको छ। किताब जात्राको छैटौँ संस्करणको शुक्रबार उद्घाटन गर्दै एमालेका उपाध्यक्ष समेत रहनुभएका मन्त्री पौडेलले यसो भन्नुभएको हो।

अर्थमन्त्री पौडेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा हासिल गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान दिन जरुरी रहेको बताउनुभयो। ‘आज नेपालीको साझा आकाङ्क्षा समृद्ध नेपाल, सुखी नेपाली हो’ पौडेलले भन्नुभयो। 

मुलुकमा राजनीतिक स्थायित्व र स्थिरता, आर्थिक, सामाजिक रूपान्तरण र विकासका लागि सहकार्य आवश्यक रहेको भन्दै पौडेलले सङ्घर्षबाट व्यवस्था परिवर्तन गरी नयाँ लोकतन्त्रात्मक, गणतान्त्रिक व्यवस्था र उत्कृष्ट संविधान ल्याइएको र त्यसको व्यवहारिक कार्यान्वयन सर्वाधिक महत्वको बिषय भएको प्रष्ट पार्नुभयो। उहाँले ‘हरेक नेपालीका निमित्त यो सर्वाधिक महत्वको प्रश्न हो’, भन्नुभयो। 

राजनीतिक स्थायित्व काम नहुँदासम्म देशलाई सम्पन्न बनाउन नसकिने उहाँको धारणा छ। ‘जबसम्म राजनीतिक स्थायित्व कायम हुन सक्दैन, जबसम्म आर्थिक क्रान्ति हुन सक्दैन, देशलाई सम्पन्न बनाउन सक्दैनौँ, प्रत्येक नेपालीलाई सम्पन्न बनाउन सक्दैनौँ, तबसम्म संविधानमा लेखिएका अधिकार जनताले उपभोग गर्न पाउँदैनन्, जबसम्म जनता सम्पन्न हुन सक्दैनन् तबसम्म राम्रा किताबहरू बजारमा आए भने पनि किन्न सक्दैनन्, पढ्न सक्दैनन्’, पौडेलले भन्नुभयो । 

उहाँले समाजका हरेक मानिसलाई समृद्धि चाहिएको बताउनुभयो । ‘अहिले नेपाल सरकोको सर्वाधिक सरोकारको विषय के छ भने राजनीतिक स्थायित्व र आर्थिक सामाजिक रूपान्तरण, विकास र समृद्धि’, उहाँले भन्नुभयो । 

समाजमा शिक्षा र चेतनाको स्तर उकास्नका लागि हुने यस्ता कार्यक्रमलाई सरकारले सधैँ साथ दिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो। ‘समाजको ज्ञान, चेतना, विवेक र एकताको सर्वोपरि रूपमा विकास गर्ने प्रयासका लागि आयोजकप्रति मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु’, उहाँले भन्नुभयो। 

पौडेलले किताब माथि कर लगाउँदा विवेक र ज्ञान माथि नै कर लगाउनु जस्तो हुने बताउनुभयो। त्यसैले आफूले किताबमा लगाएको करलाई फिर्ता लिने निर्णय लिएको पौडेलले सुनाउनुभयो।