काठमाण्डौ/ नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको अहिलेको राजनीतिक अवस्था थप निराशाजनक भएको बताउनुभएको छ। नेकपा एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले तयार पारेको सञ्चार नीतिको मस्यौदा बुझ्दै पोखरेलले यसो भन्नुभएको हो।

नेकपा एमाले सरकारबाट बाहिरिएपछि सरकार प्रति नागरिकको थप निराशा पैदा भएको पोखरेलले बताउनुभयो। मस्यौदा बुझ्दै पोखरेलले ‘एमाले सरकारबाट बाहिरिएपछि राष्ट्रिय राजनीतिमा जुन प्रकारका प्रभाव छन् त्यो, निराशा पैदा गर्ने खालकै छ’भन्नुभयो। 

त्यो अवस्थाबाट मुलुकलाई आशा तर्फ लान आवश्यक रहेको उहाँले बताउनुभयो। चार महिना पहिला एउटा तरिकाबाट जान सकिन्छ कि भनेर पुष्पकमल दाहाललाई साथ दिएको भएपनि सफल हुन नसकिएको पोखरेलले बताउनुभयो। ‘पुष्पकमल दाहालको निराशा चिर्ने कुरामा खास रुचि देखिएन’ उहाँले भन्नुभयो। 

shankar pokheral

जनतामा निराशा, अर्थतन्त्रमा सङ्कट, समाजमा एक प्रकारको अराजकता पैदा भएको बेला त्यसलाई कसरी चिर्ने भन्नेमा दाहालमा कुनै चिन्ता नदेखिएको उहाँले बताउनुभयो। यद्यपि  उहाँलाई सफल बनाउन एमालेले हदैसम्मको प्रयास गरेको पोखरेलले बताउनुभयो। 

एमालेले प्रधानमन्त्री दाहालले छाडेका मन्त्रालय लिएर समेत उहाँलाई सहयोग गरेको पोखरेलले प्रष्ट पार्नुभयो। ‘एउटा प्रधानमन्त्रीलाई काम गर्नको लागि चाहिने चिज गर्नुस् भनेर नै गरियो’, पोखरेलले भन्नुभयो। 

आलोपालो सरकारको कुरा भएको भएपनि यो सरकारले राम्रोसँग काम गर्छ भने पुरै अवधि गर्दा पनि हुन्छ भनेको उहाँले स्मरण गराउनुभयो। ‘निराशा चिर्ने तर्फ, परिणाम देखाउने तर्फ उहाँले प्रयास गरेको देखिएन, सत्तामा रहने कुरामा रुचि ज्यादा देखियो, काममा रुचि देखिएन’ उहाँले भन्नुभयो।  

सामान्यतया परिस्थितिलाई बदल्ने भनेको सरकारको नीति, कार्यक्रम र बजेटले नै भएको पोखरेलले बताउनुभयो। नीति, कार्यक्रम र बजेट बनाउँदा प्रधानमन्त्री दाहालले एमालेसँग कुनै परामर्श नै नगरेको उहाँले जानकारी दिनुभयो। एमालेले त्यस विषयमा कुरा गर्दा पनि उहाँले कुनै गाम्भिर्यता नदेखाएको पोखरेलले बताउनुभयो। 

नीति, कार्यक्रम ल्याउँदा नै एमालेले कुरा उठाएपछि बजेट ल्याउँदा छलफल गर्नुपर्नेमा अझ बजेट ल्याउँदा मन्त्रीहरू नै सर्वेसर्वा भए जस्तो गरी काम गरेको उहाँले टिप्पणी गर्नुभयो। मन्त्रीहरूले लामो समय हामी रहन्छौँ रहँदैनौँ, रहेको बेला आफ्ना र आफ्नो क्षेत्रमा काम गर्ने जस्तो व्यवहार देखाएका पोखरेलेले बताउनुभयो। यसले नागरिकमा थप निराशा बढाउने काम गरेको उहाँको भनाइ छ। 

डा.महेन्द्र विष्टको संयोजकत्वमा गठित मस्यौदा समितिले पाँच खण्डमा विभाजित प्रस्तावित सञ्चार नीति तयार गरेको छ। नीतिको पहिलो खण्डमा पृष्ठभूमि अन्तर्गत नेकपा एमालेको प्रतिबद्धता, पार्टी दस्ताबेजमा सञ्चार अवधारणा, चुनावी घोषणापत्रमा सञ्चारको समीक्षा, राज्यको सञ्चार नीतिको समीक्षा, नेकपा एमालेका सबल पक्ष तथा चुनौती र नीतिको औचित्य र सान्दर्भिकता समेटिएको छ। 

दोश्रो खण्डमा मार्गदर्शक सिद्धान्त, दीर्घकालीन सोच, लक्ष्य र उद्देश्यहरू अन्तर्गत नीतिको मार्गदर्शक सिद्धान्त, नीतिको दीर्घकालीन सोच, नीतिको उद्देश्य र नीतिको क्षेत्र समेटिएको छ। 

त्यस्तै तेश्रो खण्डमा सञ्चार नीतिको लक्ष्य, सम्बन्धी समग्र नीति अन्तर्गत पार्टीको सञ्चार नीति र राज्य सञ्चालनका सन्दर्भमा एमालेको सञ्चार नीति समेटिएको छ। 

चौथो खण्डमा पार्टी कार्यको प्रचारप्रसार अन्तर्गत विषयवस्तुको छनोट, प्रचारप्रसारका माध्यम र प्रचार सामग्रीको उत्पादन, आमसञ्चार र पार्टीका प्रकाशन प्रशारण नीति समेटिएको छ। 

पाँचौँ खण्डमा नीति कार्यान्वयन त पुनरावलोकनसम्बन्धी विषयहरू समेटिएको छ। सो नीतिको कार्यान्वयनबाट नीतिको उद्देश्य हासिल हुने विश्वास मस्यौदा समितिले लिएको छ।