काठमाण्डौ/ नेपाली कांग्रेसका सांसद सुनिल शर्माले २८गते बिश्वासको मतअघि पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन हुन नसक्नुको कारणसहित जवाफ दिनुपर्ने बताउनुभएको छ। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले यसो भन्नुभएको हो।

उहाँले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले दुइटा मात्रै राम्रो काम गरेको बताउनुभयो। उहाँले दुईटा काममध्ये पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने र आर्थिक नीतिमा दफा ५७ संशोधन मुख्य भएको बताउनुभयो। प्रधानमन्त्रीले मन्त्रीपरिषद्बाट गरेको निर्णय किन कार्यान्वयन हुन नसकेको बारे जवाफ दिन उहाँले माग गर्नुभयो।

उहाँले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने सन्दर्भमा कोसी अस्पताललाई आफ्नै आंगिक क्याम्पसको रुपमा प्रयोग गर्न पाउने र विश्वविद्यालयले तत्काल एमबिबिएस शुरु गर्ने भन्ने मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले पूर्वका विद्यार्थीहरुको लागि सुनौलो अवसर भएपनि कार्यान्वयन नहुँदा पठ्न आउने आशाले बसेका विद्यार्थीमा निराशा छाएको बताउनुभयो।

उहाँले पूर्वाधारका हिसाबले अहिलेको बिद्यमान कानुन अन्तर्गत चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलले आवश्यक पूर्वाधार हुँदा पनि अहिलेसम्म सञ्चालन हुन नसकेको बताउनुभयो। उहाँले अर्थमन्त्रीले करको दफा ५७ संशोधन गर्ने कोसिस गरेको भन्दै धन्यवाद दिनुभयो। उहाँले दफा ५७ संशोधनले नेपालका उद्योगीहरू र नयाँ स्टार्टपहरुको निम्ति पनि नयाँ ढोका खोल्ने काम गरेको उल्लेख गर्नुभयो।

उहाँले ‘नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले दुईटा मात्रै राम्रो काम गरेको छ। जसमा पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने सन्दर्भमा कोशी अस्पताललाई आफ्नै आंगिक क्याम्पसको रुपमा प्रयोग गर्न पाउने र विश्वविद्यालयले तत्काल एमबिबिएस शुरु गर्ने भन्ने मन्त्रिपरिषद्को निर्णय हो। तर पूर्वका विद्यार्थीको लागि सुनौलो अवसर थियो। यो कार्यक्रम आउला भन्ने आशा थियो। पूर्वाधारका हिसाबले अहिलेको विद्यमान कानुन अन्तर्गत चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलले आवश्यक पूर्वाधार सबै छ । तर अहिलेसम्म सञ्चालन हुन सकेको छैन । प्रधानमन्त्री २८ गते विश्वासको मत लिनुअघि जवाफ दिनुहोला। अर्थमन्त्रीले करको दफा ५७ संशोधन गर्ने कोसिस गरेको छ। त्यो नेपालका उद्योगीहरू र नयाँ स्टार्टअपहरूको निम्ति पनि नयाँ ढोका खोल्ने काम गरेको छ। कुनैपनि कम्पनीमा भएको पुँजीमा लगानी थप गर्न चाहेमा ७५प्रतिशत कर बुझाउनु पर्ने व्यवस्था थियो। त्यसले लगानी थप्न नसक्ने अवस्था थिएन। यो ऐतिहासिक काम भएको छ’ भन्नुभयो।

उहाँले पूर्वप्रधानमन्त्रीले आफ्नो कार्यकालमा ठूलो वैदेशिक लगानी ल्याउन नसकेको बताउनुभयो। सांसद शर्माले प्रधानमन्त्री दाहालप्रति लक्षित गर्दै वरिष्ठ गायक रामकृष्ण ढकालको ‘ओराली लागेको हरिणको चाल भयो’ गीत सुनाउनुभयो। 

सांसद शर्माले यस गीतमा कुनै नियम आपत्ति भए डिलिट गर्दा पनि कुनै आपत्ति नरहेको बताउनुभयो। उहाँले दाहाल नेतृत्वको सरकारले विदेशबाट हुर्रा र मुर्रा मात्रै आएको जिकिर गर्नुभयो।