इटहरी/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अवको लक्ष्य मिसन २०८४ नै भएको बताउनुभएको छ। नेकपा एमाले इटहरी नगर कमिटीको नवौँ नगर अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यसो भन्नुभएको हो।

नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनुभएकी मन्त्री चौधरीले सम्पूर्ण पार्टी पङ्क्ति मिसन ८४ मा केन्द्रित हुनुपर्ने बताउनुभयो। मन्त्री चौधरीले ‘राष्ट्रियताको मिसन बोक्दै, राष्ट्र बनाउने मिसन लिएर अगाडि बढेको पार्टी नेकपा एमाले रहेको र पार्टीलाई एक नम्बरको बनाउनका निम्ति अवको यात्रा मिसन ८४ रहेको अनि अव हामी सबै मिसन ८४को लक्ष्यमा केन्द्रित हुनुपर्छ’ भन्नुभयो।

पार्टीको नीतिलाई बोक्ने नेतृत्व स्थापित हुँदै जाने भन्दै उहाँले विकासको सपना बोक्ने पार्टी एमाले नै भएको बताउनुभयो। उहाँले विकासको मूल फुटाउनका निम्ति पनि एमालेले जित्न आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो ‘हामी नेकपा एमाले हौँ । हामी सबैको एउटै आँगन हो। हामीले राज्यसत्तालाई टिकाउ र स्थायी सरकार दिनका लागि, विकासको मूल फुटाउनका लागि कम्तीमा पनि दुई पटकसम्म एमाले नेतृत्वमा आउनुपर्छ’।

मन्त्री चौधरीले भन्नुभयो, ‘एमालेले सरकारको नेतृत्व गर्ने अवस्था आएमा जनताका आशा अपेक्षा पुरा हुन सक्छन्। अव हामी कम्तीमा ५१प्रतिशत जित्ने गरी स्थानीय, प्रदेश र संघमा जित्ने गरी अहिलेदेखि नै लाग्नुपर्छ। हाम्रो भोलीको लक्ष्य दुई तिहाइ हो तर अहिलेदेखि नै हामीले बढिभन्दा बढि जित्नका लागि लाग्नुपर्छ’।  

पार्टीभित्र कसैलाई पनि निषेध गर्नेगरी जान नहुने भन्दै मन्त्री चौधरीले पार्टीभित्रको आन्तरिक समस्या बसेर समाधान गर्नुपर्ने बताउनुभयो। एउटै आँगन, एउटै क्षेत्र, एकै ठाउँ जाने भएकाले अधिवेशनले मिसन २०८४ लाई सहयोग गर्ने उहाँको बिश्वास छ।

नेकपा एमाले इटहरी नगर कमिटिका कार्यवाहक अध्यक्ष रुपेश बस्नेतको अध्यक्षता तथा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा सुनसरी जिल्ला इञ्चार्ज एवं कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा शुरु भएको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।  

-न्युज कारखाना