सुनसरी/ सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेललाई सशस्त्र प्रहरी बल नेपालले सम्मान गरेको छ। शशस्त्र प्रहरीको प्रधान कार्यालय दहचोकमा एक कार्यक्रमका बीच APF ले पौडेललाई सम्मान गरेको हो। 

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम, वंशीराज दाहाललगायत बरिष्ठ अधिकृतहरूले पर्वतारोही पौडेललाई सम्मान गर्नुभएको हो।

सशस्त्र प्रहरी बल नेपालको इतिहासमा पहिलोपटक संगठनको प्रतिनिधित्व गर्दै प्रहरी निरीक्षक पौडेलले यहि जेठ ७ गते सोमबार बिहान १बजेर दुई मिनेटमा सगरमाथाको सफल आरोहण गर्नुभएको थियो।

PIV 1

सशस्त्र प्रहरी निरीक्षक पौडेलको सम्मानमा भएको कार्यक्रममा महानिरीक्षक अर्यालले जस्तोसुकै चुनौती सहेर आरोहण गर्न सक्छन् भन्ने बिश्वास लिएर पौडेललाई सगरमाथा आरोहण गर्न पठाइएको स्मरण गर्दै, पौडेलको सगरमाथा आरोहण मात्र नभएर सीमा सुरक्षाको जिम्मेवारी पाएको संगठनका लागि सीमा अनुगमन पनि भएको बताउनुभयो।

एपिएफले आरोहण सफलताका लागि योगदान गर्नुभएका मिङ्मा डेबिड शेर्पालाई मायाको चिनो प्रदान गरेको छ। मायाको चिनो महानिरीक्षक अर्यालले वितरण गर्नुभयो।

कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक पौडेलले सगरमाथाको शिखरमा फहराएको संगठनको झण्डा महानिरीक्षक अर्याललाई हस्तान्तरण गर्नुका साथै सगरमाथा आरोहणको अनुभवसमेत सुनाउनुभएको थियो।

PIV

यसैबीच प्रहरी निरीक्षक पौडेललाई पौडेल बंश उत्थान प्रतिष्ठान इटहरी सुनसरी र पौडेल बंश महासंघले पनि सम्मान गर्ने भएको छ।