काठमाण्डौ/ लामो प्रतिक्षापछि गुगलले अन्ततः ‘फाइन्ड माई डिभाइस नेटवर्क’ शुरु गरेको छ।

गत वर्ष गुगलले ‘फाइन्ड माई डिभाइस नेटवर्क’ घोषणा गरेको थियो र त्यसबेलादेखि यसको निरन्तर परीक्षण गरिरहेको थियो । गत हप्ताको एक रिपोर्टमा फाइन्ड माई डिभाइस’ नेटवर्क चाँडै रिलिज हुने बताइएको थियो ।

फाइन्ड माई डिभाइस नेटवर्कले एप्पलको फाइन्ड माई एप जस्तै काम गर्नेछ, जसको मद्दतले मोबाइलबाहेक अन्य स्मार्ट ग्याजेटहरू पनि ट्र्याक गर्न सकिन्छ ।

गुगलले आफ्नो एक ब्लग मार्फत फाइन्ड माई डिभाइस नेटवर्कको शुरुवातको बारेमा जानकारी दिएको छ । गुगल फाइन्ड माई डिभाइस नेटवर्क अमेरिका र क्यानडाबाट शुरु भएको छ र यसको अपडेट अन्य देशहरूमा पनि जारी भइरहेको छ । गुगलले ब्लगमा फाइन्ड माई डिभाइस नेटवर्कको मद्दतले आफ्नो एन्ड्रोइड उपकरण सजिलै र सुरक्षित रूपमा पत्ता लगाउन सकिने बताएको छ।

सामान्यतया सबैभन्दा ठूलो समस्या उपकरणको अफलाइन मोडमा हुन्छ। गुगलले फाइन्ड माई डिभाइस नेटवर्कमार्फत यो समस्या समाधान गरेको बताएको छ। गुगलले फाइन्ड माई डिभाइस नेटवर्कमा जडान भएको डिभाइस ट्य्राक गर्नका लागि सो डिभाइस इन्टरनेटमा जडान हुनु आवश्यक नरहेको बताएको छ।

पिक्सेल ८, पिक्सेल ८ प्रो प्रयोगकर्ताहरूले फोन बन्द गरेपछि पनि आफ्नो फोन ट्य्राक गर्न सक्षम हुने गुगलले बताएको छ। पिक्सेल बाहेक, अन्य कम्पनीका फोन र ग्याजेटहरूमा उपलब्ध यो सेवा छिटै उपलब्ध हुने गुगलले बताएको छ।

-न्युज कारखाना