तरहरा/ सुनसरीको तरहरामा शनिबार भएको १० किलोमिटर दौडमा बिजयी धावकहरुलाई पुरस्कृत गरिएको छ। बिजयी धावकहरुलाई इटहरीका मेयर हेमकर्ण पौडेललगायतले पुरस्कृत गरेका हुन्।

‘१०के तरहरा रन’मा बिभिन्न ठाउँबाट आएका एक हजार सात सय जना धावक सहभागी भएका थिए। ‘१०के तरहरा रन’मा बिभिन्न सात बिधा थियो। विधागत रुपमा बिजेता धावकहरुलाई पुरस्कृत गरिएको हो।

१६देखि ३९बर्ष उमेर समूहका धावकहरुले सबैभन्दा छिटो १०किलोमिटर दूरी पार गरेर प्रथम, द्धितीय र तृतीय भएकाहरूलाई पुरस्कृत गरियो। जसमा जनही ३० हजार, २० हजार र १० हजार नगदसहित मेडल प्रदान गरिएको छ।

यस्तै ४० बर्षदेखि माथिका (भेट्रान) धावकहरुलाई पनि १० किलोमिटर दौडमा सहभागी गराइएको थियो। यो बिधातर्फ प्रथम, द्धितीय र तृतीय हुनेहरूलाई क्रमश नगद १० हजार, सात हजार र पाँच हजारसहित पुरस्कृत गरियो।

यसैगरी १५बर्षभन्दा कम उमेरका बालबालिका पनि १०किलोमिटर दौडमा सहभागी भए। उनीहरूमध्ये प्रथम, द्धितीय र तृतीय हुनेहरूलाई पनि क्रमश नगद १० हजार, सात हजार र पाँच हजार प्रदान गरियो।

प्रतियोगितामा १२बर्षभन्दा कम उमेरका बालबालिकालाई ३ किलोमिटर दूरीको दौडमा सहभागी गराइयो। जसमा प्रथम, द्धितीय र तृतीय हुनेहरूलाई क्रमश पाँच हजार, तीन हजार र दुईहजारसहित मेडल प्रदान गरियो।

यसैगरी ह्वील चियरमार्फत पनि एक किलोमिटर कुदाईयो। जसमा प्रथम, द्धितीय र तृतीय हुनेहरुलाई क्रमशः नगद १० हजार, सात हजार र पाँच हजारसहित मेडल प्रदान गरियो। सबै विधामा पुरुष र महिलाहरुलाई पुरस्कृत गरिएको थियो। 

यस्तै स–परिवार दौड प्रतियोगिता ३किलोमिटरको रहेको आयोजकले जनाएको छ।