धरान  / २४औं बुढासुब्बा गोल्डकपको उपाधि न्युरोड टिम, एनआरटीले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा जिल्ला फुटबल संघ मोरङलाई २-१ ले पराजित गर्दै एनआरटीले दोस्रो पटक उपाधि जितेको   हो ।

एनआरटीलाई उपाधि जिताउन ओलावाले अफिज र सरोज तामाङले गोल गरे । अफिजले खेलको छैटौं र तामाङले ५१औं मिनेटमा गोल गरे । मोरङका उमेश कार्कीले ४३औं मिनेटमा गोल फर्काए । प्रतियोगिताको विजेता एनआरटीले १० लाख र उपविजेता मोरङले ५ लाख रुपैयाँ पाएका छन् । यसअघि एनआरटीले १०औं संस्करणमा जावलाखेल युथ क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एनआरटीका सनम लिम्बु घोषित हुँदै एक लाख नगद हात पारे । उच्च गोलकर्ता एनआरटीका अफिज ओलावाले, सरोज तामाङ र मोरङका उमेश कार्की बने । उनीहरुले जनही १२(१२ हजार रुपैयाँ प्राप्त गरे । बेस्ट डिफेन्स मोरङका महेन्द्र कार्की, बेस्ट स्ट्राइकर एनआरटीका शिशिर लेखी, बेस्ट मिडफिल्डर एनआरटीका जय गुरुङ, बेस्ट गोलकिपर एनआरटीका पूजन होना, बेस्ट कोच एनआरटीका जीवन सिन्खेमान घोसित हुँदै जनही २५/ २५ हजार प्राप्त गरे ।

मोरङले सेमिफाइनलमा आयोजक धरान फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गरेको थियो । एनआरटीले गत संस्करणको उपविजेता काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई पेनाल्टीमा ५-शून्यले पराजित गर्दै मोरङ सँगको उपाधि भिडन्त पक्का गरेको थियो । एनआरटीले क्वार्टरफाइनलमा विभागीय टिम त्रिभुवन आर्मीलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।