इटहरी / गत फागुन २६ गते इटहरी २० तरहरामा सम्पन्न भएको तरहरा रनले आयव्यय सार्वजनिक गरेको छ । १० किलोमिटर दौड प्रतियोगिता सम्पन्न गरेको थियो । कार्यक्रम आयोजना भएको डेढ महिना बित्दै आयोजक समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै खर्च विवरण सार्वजनिक गरेको हो ।

खर्च विवरण गरेर तरहरा रनले पारदर्शीता देखाएको छ । पछिल्लो समय समाजमा हुनेगरेका कार्यक्रमहरूले आफ्नो खर्च विवरण सार्वजनिक नगर्ने र समाजप्रति जवाफदेही नबन्ने कुराहरू आइरहँदा तरहरा रनले आयव्यय सार्वजनिक गर्दै आगामी वर्ष पनि रनलाई निरन्तरता दिइने जनाएको छ ।

तरहरा रनका कोषाध्यक्ष किशोर खत्रीले कार्यक्रममा कूल १५ लाख ४९ हजार दुई सय ८२ रुपैयाँ आम्दानी भएको जानकारी दिए । यसैगरी १५ लाख १८ हजार ८०७ रुपैयाँ खर्च भएको उनले जनाए । खर्च कटाएर ३० हजार ४७५ रुपैयाँ बचत भएको खत्रीले बताए ।

उनका अनुसार सहभागीबाट कूल ४ लाख ६० हजार ९५० रुपैयाँ आम्दानी भएको थियो ।  यसैगरी बाँकी इटहरी उपमहानगरपालिकासहित स्थानीय संघसंस्था र विदेशमा रहेका तरहराबासीहरूले सहयोग गरेका थिए ।

प्रतियोगितामा पुरस्कार वितरण, टि–सर्ट छपाइ, गेट निर्माण, मार्किङ बोर्डलगायतमा खर्च भएको जनाइएको छ । प्रतियोगितामा कूल एक हजार सात सय ७४ जना धावक तथा धाविका सहभागी रहेका थिए । जसमा १२ वर्षभन्दा कम उमेरका ५१९ जना बालबालिकाहरू सहभागी थिए । उनीहरूलाई ३ किलोमिटर दूरीको दौडमा सहभागी गराइएको थियो ।

यस्तै, १५ वर्षभन्दा कम उमेरका १९९ जना सहभागी बालबालिकाहरूलाई १० किलोमिटर दूरीको दौडमा सहभागी गराइएको थियो ।

यसैगरी, १६ देखि ३९ वर्षसम्म ५१० जना, ४० देखि माथिका (भेट्रान)तर्फ १६५ जना, पारिवारिकतर्फ ३४५ जना र ह्वील चियरतर्फ ३६ जना सहभागी थिए । जसमा ह्वील चियरमा सहभागी धावक, धाविकालाई भने दर्ता शुल्क नलिइएको तरहरा रनका अध्यक्ष शिवु रुम्दाली राईले बताए । सबै विधाका विजेताहरूलाई नगद, मेडल र प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको थियो ।

 आयव्यय सार्वजनिक कार्यक्रममा इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठले उक्त रनले तरहरालाई चिनाउनु र यो ठाउँको स्तरोन्नतिका गरिएको भन्दै प्रशंसा गरे ।