इटहरी/ इटहरीमा फागुन २९ गतेदेखि प्रादेशिक ललितकला प्रदर्शनी गर्न लागिएको छ। ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा गर्न लागिएको प्रदर्शनीमा सहभागि हुन यतिखेर प्रदेशभरीका कलाकारहरु इटहरी आइरहेका छन् ।


इटहरी ४ मा रहेको इटहरी मेट्रिक्समा प्रदर्शनी गरिनेछ। प्रदर्शनीमा कलाकारहरुले ललितकलाका विभिन्न विधाअन्तर्गतका आफ्ना सृजनाहरु प्रदर्शनीमा राख्न सक्नेछन् । प्रदर्शनीमा समावेश गरिएका कलाकृतिहरुको विधागत प्रतियोगिता हुनेछ । जसको विजेतालाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । यस्तै प्रतियोगितामा सहभागि नगराउने, तर प्रदर्शनीमा राख्न चाहनेहरुलेसमेत सहभागिता जनाउन सक्नेछन् । तर प्रतियोगि र अप्रतियोगि दुवै तरिकाले प्रदर्शनीमा राखिने कलाकृतिहरु फागुन १५ गतेभित्र इटहरी मेट्रिक्समा ल्याएर दर्ता गराइसक्नुपर्ने प्रदर्शनीका उप संयोजक कलाकार विक्रम श्रिले जानकारी दिए । 


नेपालका सात वटै प्रदेशमा प्रादेशिक ललितकला प्रदर्शनी एकैसाथ हुन लागेको छ । प्रदर्शनीमा  पुरस्कृत भएका कलाकृतिले जेठ १५ गते काठमाडौंमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा सहभागिता जनाउन पाउनेछन्। कलाकारहरुको लागि राम्रो एक्सपोजर भएकोले यो प्रदर्शनीलाई लिएर कलाकारहरु उत्साहित भएको र पुर्वका कुना कुनाबाट कलाकृति बोकेर इटहरी आउने क्रम जारी रहेको श्रिले जानकारी दिए। 


जिल्ला बाहिरबाट आउने सर्जक, कलाकारहरुलाई यातायात खर्च दिइनेछ भने कार्यक्रम अवधि भरी बस्न खाना व्यवस्था निःशुल्क हुने उनले बताए ।


उनकाअनुसार प्रदर्शनीमा चित्रकला, मूर्तिकला, हस्तकला, वास्तुकलाका साथै फोटोग्राफी, लोककला, प्रतिस्थापन कला, कार्टून, पोष्टर जस्ता विधामा समेत प्रतिष्पर्धा हुनेछ । तर चित्रकला, मुर्तीकलामा सहभागिहरु धेरै आएपनि हस्तकला, वास्तुकला, फोटोग्राफी, लोककला, प्रतिस्थापन कला, कार्टून, पोष्टरमा सहभागिता न्युन रहेको उनले बताए । 


‘कतिपयलाई यो विधा पनि सहभागि हुन सक्छ भन्ने थाहा छैन,’ उनले भने, ‘कतिपयमा चाहिँ सुचना नपुगेको पनि हुनसक्छ, हामी कोसिस गरिरहेका छौं ।’